इटहरी । काम सम्पन्न गरिसक्नु पर्ने म्याद सकिएको १० वर्ष बित्दा पनि हुलाकी सडक आयोजनामा पर्ने खोला र नदीमा पुल नबन्दा हुलाकी सडक सञ्चालनमा आउन सकेको छैन । झापाका ५ वटा नदी तथा खोलामा पुल अलपत्र छन् । झापाको लेहेरा खोलामा पुल बन्न थालेको ७ वर्ष पुरा भयो । हुलाकी सडक मार्ग अन्तरगत मेची रतुवा सडक खण्डको लेहेरा खोलामा पुल बनाउन २०७३ असार ३ गते लामा र बाम्ती जेभी काठमाण्डौसँग सम्झौता भएको थियो ।
सम्झौता अनुसार २०७५ साल असार २९ गते सम्ममा सो पुल बनिसक्नु पर्ने थियो । तर सम्झौता अनुसार पुल बनिसक्नु पर्ने म्याद गुज्रिएकै ५ वर्ष बितिसक्दा पनि सो खोलामा पुल बनेको छैन ।
हुलाकी सडक आयोजनाका अनुसार अहिले सम्म सो पुलको प्रगति विवरण ८० प्रतिशत मात्रै सम्पन्न भएको छ ।
४ करोड ६४ लाख ४१ हजार १ सय ६० रुपैयाँमा ठेक्का लागेको सो पुल बनी नसक्दा हुलाकी सडक आयोजन सञ्चालन हुन सकेको छैन ।
पटक पटक म्याद थप गर्दै लामार बाम्ती जेभीले यस वर्षको असार मसान्त सम्ममा काम सम्पन्न गरिसक्नु पर्ने छ । तर यही गतिमा भइरहेको कामले थपिएको समय अवधिमा समेत कम सम्पन्न गर्न देखिँदैन ।
हुलाकी सडक आयोजना अन्तरगत झापा, मोरङ र सुनसरीको खण्डमा लेहेरामा जस्तै अन्य ४ वटा खोलामा पनि वर्षौँदेखि पुल बन्न सकेको छैन ।
कोरोना लगायतका बहाना बनाउँदै पहुँचका भरमा ठेकेदार कम्पनीहरूले पटक पटक म्याद थप गर्दै आएका छन् ।
पहुँच र प्रभावका भरमा सम्झौताको म्याद गुजार्दै म्याद थप गर्दै आएका ठेकेदारहरूले पुल निर्माणको काम सम्पन्न नगर्दा झापाको कनकाई, झापाकै सानो माई, बिरंङ र भुतानी खोलको पुल निर्माणको काम अलपत्र परेका छ ।
झापाको बिरङ्ग खोलामा २०७१ साल पुस ९ गते नै पुल निर्माण सम्पन्न भइसक्नु पर्ने हो । ठेकेदार कम्पनी लामा / मैना चुली जेभीले काम सम्पन्न गरिसक्नु पर्ने मिति भन्दा ९ वर्ष ढिला हुँदा पनि पुल निर्माणको काम सम्पन्न गरेको छैन ।
सो पुल निर्माणका लागि २०६८ साल असार १३ गते सम्झौता भएको थियो । सम्झौता अनुसार २०७१ साल पुस १० गते निर्माण सम्पन्न गर्नु पर्ने उल्लेख छ ।
हुलाकी सडक आयोजनाका इन्जिनियर प्रमोद खतिवडाले पुल निर्माणको भौतिक प्रगति ९५ प्रतिशत भएको बताए ।
सो पुल निर्माणका लागि १५ करोड ५० लाख ५८ हजार ६ सय रुपैयाँ बजेट विनियोजन भएको छ ।
२०७२ साल जेठ २ गते निर्माण सम्पन्न भइसक्नु पर्ने झापाको कनकाई नदीको पुलको भौतिक प्रगति ८० प्रतिशत मात्रै भएको छ ।
सो पुल निर्माणको ठेक्का पप्पु / महादेव जेभीले पाएको छ । ३४ करोड ९ लाख २ हजार ४७०मा सो पुलको ठेक्का सम्झौता २०६८ साल जेठ २ गते भएको थियो ।
सम्झौता अनुसार निर्माण सम्पन्न गर्नु पर्ने सो पुल निर्माणको काम अलपत्र हुँदा हुलाकी सडक आयोजना अन्तरगत मेची रतुवा सडक खण्डमा यातायात सञ्चालन हुन सकेको छैन ।
पटक पटक ताकेता गर्दा पनि पुल निर्माणको काम सम्पन्न नभएको हुलाकी सडक आयोजनाले जनाएको छ ।
यस्तै झापाकै सानो माई खोलाको पुल निर्माण पनि अलपत्र परेको छ । सो पुल निर्माणको ठेक्का निर्माण कम्पनी लामा / बाम्ती जेभीले नै पाएको छ । सो पुलको काम २०७५ साल असारमा सम्पन्न गर्नु पर्ने थियो ।
तर अहिले सम्म पनि सो पुलको काम ९० प्रतिशत मात्रै भएको इन्जिनियर खतिवडाले बताए ।
झापाकै भुतनी खोलामा हुलाकी सडक आयोजना अन्तरगत ठेक्का लागेको पुलको काम पनि ९० प्रतिशत मात्रै भएको छ । सो पुल निर्माणका लागि ५ करोड ३० लाख ७६ हजार ४ सय रुपैयाँमा ठेक्का लागेको छ । २०७३ सालमा ठेक्का लागेको सो पुलको निर्माण २०७५ साल असारमा सम्पन्न गरिसक्नु पर्ने सम्झौतामा उल्लेख छ ।