सुनसरी - मदन भण्डारी फाउन्डेसन कोसी प्रदेश समितिले प्रदेश नामाकरणलाई लिएर भइरहेको आन्दोलनलाई शान्तिपूर्ण ढङ्गले समाधान खोज्न सरकार र आन्दोलनकारीलाई आग्रह गरेको छ । फाउन्डेसनको सुनसरीको इटहरीमा सम्पन्न दोस्रो प्रदेश अधिवेशन पश्चात् जारी गरिएको इटहरी घोषणापत्र मार्फत वार्ता र संवाद मार्फत समाधानको बाटो अवलम्बन गर्न सम्बद्ध सबै पक्षसँग माग गरिएको छ ।

इटहरी घोषणापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका प्रदेश अध्यक्ष गोपाल गुरागाईँले बहु जाति, बहुभाषिक, बहुसास्कृतिक र सप्तरङ्गी कलाभित्र सामाजिक सद्भाव, सहिष्णुता र भावनात्मक एकता आबद्ध हुँदै आएको कोसी प्रदेशमा अहिले उठेको नामाकरणको विवाद स्वाभाविक भएकोले संवाद र छलफलबाट हल खोजिनुपर्ने बताए । 

  फाउन्डेसन कोसी प्रदेश उपाध्यक्ष एवंम प्रदेशसभा सदस्य विजय राईले दुई तिहाइ बहुमतबाट कायम गरिएको नामाकरणलाई लिएर आफूहरू जस्ता जनजाति नेताहरू माथि पटक पटक प्रहार गरिएको दुखेसो गरे । आन्दोलनरत पहिचानबादीहरु संग वार्ता गरेर समस्याको समाधानको पहल गरिए पनि उनीहरूबिच नै एकता नभएर समस्या सिर्जना भएको उनले बताए ।

फाउन्डेसनको इटहरी घोषणापत्रमै नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यका जिम्मेवार ब्यक्तिहरु नै मुछिनुले नेपालको शिर बिश्वजगतमा निहुरिएको जनाउँदै यो घटनामा संलग्न जो सुकै भए पनि कारबाही गर्न जोडदार माग गरेको छ ।

नक्कली भुटानी शरणार्थी जस्तो मानव बेचबिखन जस्तो सङ्गठित अपराधका अभियुक्त अपराधीहरू जो सुकै भए पनि निष्पक्ष छानबिन गरी कानुन अनुसार दण्ड गरिनुपर्ने फाउन्डेसनको माग छ ।

फाउन्डेसनको इटहरीमा सम्पन्न प्रदेश सम्मेलनमा कोसी प्रदेशका खोटाङ, सोलुखुम्बु र ताप्लेजुङ बाहेकका ११ जिल्लाका प्रतिनिधिहरू सहभागी रहेको कोसी प्रदेश सचिव सोमराज थापाले जानकारी दिए । भेलाले १९ सदस्यीय निर्वाचित र ७ मनोनीत गरी २६ सदस्यीय कार्य समिति गठन गरिएको थापाले जानकारी दिए ।