विराटनगर । चेतन बास्तोला धरान उपमहानगरपालिका वडा नम्बर १६ मा बस्छन् । उनी विराटनगरमा रहेको विराट नर्सिङ होममा धाउन थालेको १९ दिन भयो । उनकी श्रीमती पवित्रा खड्का बुधवार आफ्नो सानो नानीलाई छातीमा च्यापेर अस्पतालको बेडमा थिइन् । उनले विराट नर्सिङ होममा आउन भन्दा पहिला धेरै पटक बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा आफ्नो परीक्षण गराएकी थिइन् । गर्भवती अवस्थामा गरिनु पर्ने सबै खालका परीक्षणहरू बिपी मै गराइन् । गर्भवती भएको ७ महिना पुग्दा नपुग्दै उनमा समस्या देखिन थाल्यो । डाक्टरले थप परीक्षण गर्न सुझाव दिए । बिपीमा परीक्षण गराउँदा त्यहाँ बच्चालाई बचाउन नसक्ने डाक्टरहरूको सल्लाह आयो, उनीहरू विराटनगरमा रहेको विराट नर्सिङ होममा पुगे । त्यहाँ पुगेका बास्तोला दम्पतीलाई अस्पतालले परीक्षण गरेपछि शल्यक्रियाबाट बच्चा सकुशल बच्चा निकाल्न सकिने बताए । ७ महिना मै
डाक्टरहरुले सफल शल्यक्रियाबाट बच्चाको जन्म दिएका छन् ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गराउँदै आएकोमा अप्रेसन गर्न भन्दा १५ दिन अगाडी पनि बच्चाको अवस्था सामान्य नै रहेको बास्तोलाले बताए । बच्चा खेल्नको लागि आवश्यक पर्ने पानीको मात्रा त्यो बेलासम्म पनि ठिकै रहेको डाक्टरले बताएका थिए ।
अर्को पटकको परीक्षणमा डाक्टरले बास्तोलालाई बच्चाको तौल नर्मल नभएको भन्दै भिडियो एक्स-रे गर्न सुझाव दिए । डाक्टरले दिएको सुझावको आधारमा उनीहरूले भिडियो एक्स-रे गरेपछि मात्र थाहा भयो पानीको मात्रा कम भएको र बच्चाको अवस्था जटिल खालको रहेको । ‘बिपीमा तत्काल हामीले डाक्टरलाई देखायौँ, डाक्टरले अस्पताल भर्ना गर्न भन्नुभयो तर भर्ना गर्दा बच्चाको बाँच्ने सम्भावना छैन भन्नुभयो, बास्तोलाले भने, त्यसपछि आफन्तसँग सल्लाह गरेर विराट नर्सिङ होममा लिएर आएँ ।’
डा. मोनाले २ दिनसम्म औषधी दिएर हेर्ने त्यसपछि पानीको लेभल बढ्यो भने ठिकै छ भनेपछि बसेका बास्तोला परिवारलाई बच्चाको मुटुको धड्कन राम्रो भए पनि दुई दिनसम्म पनि मानीको मात्रा नबढेपछि अप्रेसन गर्न डाक्टरले सल्लाह दिएका थिए । नवजात शिशु तथा बाल रोग विशेषज्ञ डा. दीपराज अधिकारीले बच्चालाई बचाउन सक्ने सम्भावना रहेको भनेर बास्तोला परिवारलाई काउन्सिलसङ गरेपछि उनीहरू अप्रेसन गरेर बच्चा निकाल्न सहमत भए । बास्तोलाका अनुसार ‘बच्च जन्मिएको १९ दिन पुरा भएको छ, डाक्टरको भनाइका आधारमा बच्चाको अवस्था अहिलेसम्म राम्रो रहेको छ ।’
उनकी श्रीमती पवित्रा खड्काका अनुसार, सुरुमा डाक्टरले बच्चा बचाउन सक्दिन भनियो, अहिले बच्चा सकुशल रहेको छ, मेरोलागि डाक्टर भगवानको रूपमा देखिनुभयो ।’ अहिले उनले दैनिक बच्चालाई आफ्नो छातीमा टाँसेर राखेकी हुन्छिन् ।
जटिल शल्यक्रिया
पानीको मात्रा कम, बच्चाको तौल कम हुनु अनि ७ महिनामा नै अप्रेसन गर्नु पर्ने खालको केश कमै मात्रामा अस्पतालसम्म आउने गरेको डाक्टरहरू बताउँछन् । बास्तोला परिवारको केश पनि त्यस्तै नै थियो । विराट नर्सिङ होमका नवजात शिशु तथा बाल रोग विशेषज्ञ डा. दीपराज अधिकारीले अप्रेसनको नेतृत्व लिएका थिए । डा अधिकारीका अनुसार यस्ता खालका केशहरू कमै मात्रामा आउने गरेको भए पनि आफूले सहज शल्यक्रिया गरेको बताए ।
‘आमाको गर्भमा शिशु पुग नपुग ७ महिनाको हुँदा पानीको मात्रा कम देखिएपछि विराट नर्सिङमा आउनु भएको थियो, उनले भने, शिशुको तौल ७०० ग्राम थियो, तुरुन्तै निकाल्नु पर्ने अवस्थामा थियो, ननिकाल्दा बच्चालाई बचाउन नसक्ने खालको अवस्था थिएन ।’
कम तौल भएका, छोटो समयमा जन्मिएका बच्चाहरुको लागि पहिलादेखि नै सेवा दिँदै आएको कारण यो केशलाई पनि तुरुन्तै अप्रेसन गरौँ भन्ने सल्लाहका आधारमा अप्रेसन गरेर शिशुलाई जन्म दिएको डा अधिकारीले बताए । डा अधिकारीका अनुसार, बास्तोला परिवार शिशुलाई निकालेर फाल्ने की भन्ने अवस्थामा पुगेका थिए । ‘यो भन्दा अगाडी पनि यस्ता केशहरू आएको कारण आतिनु पर्दैन, कोसिस गरौँ भनेपछि उहाँहरू अप्रेसन गरेर बच्चा निकाल्न तयार हुनु भयो, डा. अधिकारी भन्छन्, करिब ८ महिना अगाडी पनि हामीले तिम्ल्याहा बच्चा भएको उदाहरण दिएपछि उहाँहरूलाई बुझाउन सजिलो भयो ।’ त्यो बेला पनि यस्तो खालको कम तौलको बच्चा जन्मिएको थियो । करिब डेढ महिना अस्पताल बस्नु परे पनि सफल उपचार पछि फर्किएको विषयले यस्ता कम तौलका शिशुको उपचार गर्न सक्छौँ भन्नेमा विश्वस्त रहेर सफल शल्यक्रिया भएको डा अधिकारीले बताए । यस्ता साना खालको बच्चाको उपचार अत्यन्तै जटिल खालको हुने अधिकारी बताउँछन् । एक हजार ग्राम अर्थात् एक किलो न्यून तौल भएका बच्चाहरूलाई कम तौलको बच्चा मानिन्छ । यो शिशुको तौल ७२० ग्राम मात्र थियो ।
शिशुलाई एक दिन पनि भेन्टिलेटरमा राखिएन, अक्सिजनको माध्यामबाट हुने सि पाप पद्धतिले ईन्क्युभेटरमा सुरक्षित राखेर उपचार भएको डा अधिकारीले बताए । ‘१९ दिनसम्म आउँदा शिशुले आफ्नो आमाको दूध नै खाएको छ, डाक्टर अधिकारीले भने, अक्सिजन चाहिएको छैन आफैँले श्वास फेरिरहेको छ, जन्मिएको तौल भन्दा १०० ग्राम तौल बढेर ८३५ ग्राम पुगेको छ।’
बच्चाको सुरक्षाको लागि आमाको छातीमा राखेर गरिने कङ्गारु मदर केयरको माध्यमबाट अहिले उपचार भइरहेको छ । ‘दैनिक ४–५ घण्टा कङ्गारु मदर केयर गराउँदै आएका छौँ, आमाको दूधलाई बढी महत्त्व दिएर क्यालोरी बढाउने, तौल बढाउने तर्फ अहिले लागेका छौँ, डा अधिकारीले भने, जति सक्दो चाँडो बच्चालाई परिवारलाई दिएर पठाउने गरि उपचारहरू भइरहेको छ।’
यसरी जन्मिन्छन् कम तौलको बच्चा
यसरी कम तौलको बच्चाहरू जन्मनुमा धेरै कारण हुन सक्ने डाक्टरहरू बताउँछन् । यो केशमा शिशुको जन्म चाँडै भएको मानिन्छ । आमाको गर्भाशयमा पानीको मात्रा कम भएपछि चाँडै जन्म हुँदा तौल पनि कम भएको डा अधिकारीको भनाई छ। १० महिना नभई ननिस्कने शिशु ७ महिना पुग्न पनि हप्ता दिन पहिला नै जन्मिएको हो । पानी कम भएपछि बच्चाले त्यहाँ आहारा नपाउने अधिकारी बताउँछन् । ‘न्युट्रेशन आमाबाट पाउने हो, आमाको पेट भित्र रहेको बेलामा पानीको मात्रा कम हुँदा बच्चा हुर्किन बढ्नका लागि ठाउँ रहँदैन, डा. अधिकारीले भने, यस्तो खालको प्रेग्नेन्सीमा धेरै ध्यान दिनु पर्छ, आमाको गर्भाशयमा पानीको मात्रा कम हुँदा समस्या हुन्छ ।’
छिटो बच्चा निस्कने कारणहरू धेरै हुन सक्ने डाक्टरको भनाई छ। आमाको स्वास्थ्य अवस्था, रक्तचाप, पाठेघरको समस्या, सुगर प्रेसरका कारण पनि चाँडै बच्चा जन्मन सक्छ । ‘अहिलेको अवस्थामा आमालाई ब्याथा लागेको हैन, उनले भने, अल्ट्रासाउन्ड गर्दा आमाको पेटमा अत्यधिक पानीको मात्रा कम भएपछि अप्रेसन गरिएको हो ।’
पानीको मात्रा कम भएपछि जसरी पनि बच्चालाई जन्मदिन पर्ने थियो, तौल कम, निकाल्दा बाँच्ला नबाँच्ला भन्ने निक्कै संवेदनशील भए पनि राम्रो टिम भएर राम्रो गरि काम गरियो भने सम्भव छ भन्ने लागेर सबै मिलेर सफल भएको अधिकारीले बताए । यस अघि पनि यस्ता खालका थुप्रै शिशुहरूको सफल अप्रेसन गरेर निकालिएको उनले सुनाए । आफू नवजात शिशु तथा बाल रोग विशेषज्ञ भएको नाताले यस्ता विषयहरूलाई आफूले गम्भीर रूपमा लिने गरेको बताए । नवजात शिशुको बारेमा निक्कै अनुभव रहेको सुनाएका डा अधिकारीले विगत ३–४ वर्षदेखि २८,२९, ३०, ३१, ३२ हप्ताका थुप्रै शिशुहरूको जन्म दिलाउन सफल भएको बताए । सामान्यतया बच्चाहरू ४० हप्तामा जन्मने गरेको भए पनि समयभन्दा पहिला नै जन्मने बच्चाहरूलाई स्वस्थ बनाएर घर पठाउने गरिएको छ ।
डाक्टरका अनुसार बच्चा पेटमा बस्ने बित्तिकैदेखि डाक्टरको सल्लाह लिन थाल्नु पर्छ । स्वस्थ खाना, निरन्तर परीक्षण, आईरन चक्की, क्याल्सियम लगायत खानै पर्ने औषधीहरू नियमित खानु पर्ने डाक्टरको सल्लाह छ । एक पटक भए पनि टिटानसको सुई लगाउने, ४–५ पटक अल्ट्रासाउन्ड तथा भिडियो एक्स-रे गर्नु पर्ने डाक्टर अधिकारीको भनाई छ ।