विराटनगर । निर्माण कार्य नसकिदै भारतको बथनाह देखि विराटनगरसम्म सञ्चालन हुने रेल सेवाको उद्घाटन भएको छ ।
भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रेलवे सेवाको उद्घाटन गरेका हुन् ।
बिहीबार दिल्लीबाट दुई देशका प्रधानमन्त्रीले स्विच थिचेर रलवे र कार्गो रेलवे सेवाको उद्घाटन गरेसँगै आजै वथनाहाबाट नेपाली उद्योगका कच्चा पदार्थ बोकेको कार्गो रेल नेपाल आउने छ ।
बथनाहाबाट छुटेको कार्गो रेल आजै विराटनगरको बुध नगर स्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी)आइपुग्ने छ ।
बथनाहबाट आइसापी सम्मको दुरी ८ किलोमिटर रहेको छ । बथनाहबाट छुटेको कार्गो रेल १५ मिनेटमा आइसापी सम्म आइपुग्ने छ ।
बिहीबार आएको मालवाहक रेलमा आरती स्ट्रिप्स, स्वस्तिक रोलिङ, हुलास वायर र प्रिमियर स्टिल उद्योगको कच्चा सामग्री रहेको छ ।बुधवार परीक्षणका लागि आइसापी सम्म कार्गो रेल आएको थियो ।
यस अघि भारतको बथनाहाबाट विराटनगरको आइसापी रेलवे स्टेसनसम्म बिछ्याइएको ८ किलोमिटर रेलमार्गमा २०७५ कात्तिक ८ गते रेल सञ्चालनको परीक्षण गरिएको थियो ।
नेपाल–भारत दुवै देशका झन्डा राखेर २०७५ सालमै बथनाहादेखि आइसीपीको स्टेसनसम्म परीक्षण स्वरूप रेलको इन्जिन ल्याइएको थियो।यसपछि भारतीय पक्षले पटक पटक नेपाल सरकारलाई आइसीपीसम्म रेल कार्गो सञ्चालन गर्न अनुरोध गर्दै आएको थियो ।
भारतको बथनाहादेखि मोरङको कटहरी सम्म रेल सञ्चालन गर्ने परियोजना सन् २०११ मा सुरु भएको थियो । १८ किलोमिटर लामो रेल मार्गको मुआब्जा विवादका कारण काम अगाडि बढ्न सकेको छैन ।
अहिले सम्म बथनाहाबाट आइसापी सम्मको रेलको लिक निर्माणको काम सम्पन्न भएको छ ।
बाँकी ८ किलोमिटरको निर्माण कार्य भइरहेको रेल विभागले जनाएको छ । कटहरी क्षेत्रको २ किलोमिटर लिक निर्माणको काम भने मुआब्जा विवादका कारण अगाडि बढ्न सकेको छैन ।
भारतीय पक्षको आर्थिक र प्राविधिक सहयोगमा सो रेल परियोजनाको निर्माण सुरु भएको हो । भारतको बथनाहाबाट विराटनगर–हुँदै कटहरी गाउँपालिका–१ महेशपुर सम्म रेल आउने परियोजना उल्लेख छ ।