विराटनगर । कोशी प्रदेश सरकारले सांसद विकास पूर्वाधार  कार्यक्रमको लागि १ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ । सङ्घीय सरकारले छुट्याएको बजेटमा विवाद भइरहेको बेला कोशी प्रदेश सरकारले पनि त्यही प्रकृतिको सांसद विकास क्षेत्रको नाममा बजेट  छुट्याएको हो । प्रत्यक्ष प्रदेश सभा सदस्यलाई दुई करोड र समानुपातिक प्रदेश सभा सदस्यलाई एक करोड पाउने गरि रकम विनियोजन गरेको हो ।  आर्थिक वर्ष २०८०÷८१ को वार्षिक बजेट सार्वजनिक गर्दै प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सांसद क्षेत्र विकास पूर्वाधार कार्यक्रमको लागि  १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेका हुन् । छुट्याइएको बजेट सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रमा पुल, बाटो तथा अन्य विभिन्न पूर्वाधार निर्माणमा खर्च गर्न पाउनेछन् ।