डाक्टर धुब नारायण साह बुढिगंगा गाउँपालिका वडा नम्बर २ मा रहेको विराट मेडिकल कलेजमा कलेजो रोग विशेषज्ञका रूपमा कार्यरत छन् । विराट मेडिकल कलेज तथा टिचिङ अस्पतालमा पछिल्लो समय जन्डिसका बिरामीको सङ्ख्या बढेको देखिन्छ । कलेजकोमा देखिने सामान्य सङ्क्रमणबाट सुरु हुने जन्डिसले मानिसको मृत्यु हुन सक्ने भएकोले सावधानी अपनाउनु पर्ने डाक्टर साहले बताए । जन्डिस के हो र कसरी बच्ने भन्ने बारेमा डाक्टर साहले जानकारी दिएका छन् ।
हामीले कसरी काम गर्दैछौँ ?
हामीले यहाँ पेट सम्बन्धी सम्पूर्ण उपचारहरू गर्दै आएका छौँ । पेटका क्यान्सरहरू पनि हामीले हेर्दै आएका छौँ । विराट मेडिकल कलेजमा पछिल्लो समय हामीले क्यान्सरका उपचारहरू सहज रूपमा गर्दै आएका छौँ ।
जन्डिस भनेको कस्तो रोग हो ?
जन्डिस भनेको जीउ पहेँलो हुनु, आँखा पहेँलो हुनु, छाला पहेँलो हुनु हो । जति जन्डिसको मात्रा बढ्दै जान्छ त्यति नै पहेँलोको मात्रा बढ्दै जाने हुन्छ । यसको विभिन्न कारणहरू रहेको छ। कलेजोमा समस्या भएर या कलेजोको तल्लो पित्तको बाटो ब्लक भएर पनि जन्डिस हुनसक्छ । कहिलेकाहीँ रगतको खराबीले पनि जन्डिस हुनसक्छ । बिशेष गरी कलेजोमा सङ्क्रमण देखिएर वा बन्द भएर जन्डिसको सङ्क्रमण भएको पाएका छौँ ।
के जन्डिस आफैँ निको हुन्छ ?
धेरै
जन्डिसहरु आफैँ निको हुन्छ, त्यसलाई केही पनि उपचार गर्नु पर्दैन । कुनै पनि औषधी खाने, डाक्टरकोमा जाने वा झारफुक गर्ने लगायत केही पनि गर्नु पर्दैन । त्यस्ता जन्डिस गम्भीर प्रकृतिको जन्डिस हुनु भएन ।
जस्तो की कहिलेकाहीँ कलेजो नै ड्यामेज भइसकेको हुन्छ । कलेजोको बाटोहरू पूर्ण रूपमा ब्लक भइसकेको हुन्छ । मैले बारम्बार ब्लक हुनु भन्ने किन भनिरहेको छु भनेँ, कलेजोमा पित्त भन्ने हुन्छ । त्यो पित्त खानाको नलीमा पाचन प्रणालीमा आउनु पर्ने हुन्छ । त्यो बन्द हुनु हुँदैन । त्यो कुनै ढुङ्गाले गर्दा या कुनै मासु पलाएर बाहिरबाट या भित्रबाट बन्द भयो भने त्यस्तो अवस्थाको जन्डिस सामान्य खालको जन्डिस हुँदैन । यस्ता जन्डिस कुनै पनि घरेलु उपचार गरेर या झारफुक गरेर निको हुँदैन । यस्तो अवस्थामा तपाई सर्जनकोमा जानुपर्ने हुन्छ । विशेष गरि ग्याष्ट्रो सर्जनकोमा जानुपर्ने हुन्छ । तपाईँ विशेषज्ञकोमा गए पनि जन्डिस कस्तो खालको हो, के कारणले भएको हो, कति मात्राको जन्डिस हो, त्यसले कति असर गरेको छ ती सबै कारण पत्ता लगाउने काम हुन्छ । यदि परीक्षणको क्रममा जन्डिस क्यान्सरमा गएको छ भनेँ कुन तहमा छ र थप उपचार के गर्न मिल्छ भनेर हेर्ने गरिन्छ । कहिलेकाहीँ केही गर्न नमिल्ने अवस्थाको पनि हुन्छ ।
सुरुकै चरणमा विशेषज्ञ डाक्टरलाई देखाइयो भनेँ विभिन्न माध्यमाबाट हेरिन्छ । ढुङ्गा रहेको भए अप्रेसन गरेर या दुरविनबाट निकाल्न मिल्छ । जन्डिस र क्यान्सरको कुरा मुख्य कुरा हो । पित्तको नलीमा या कलेजोको भित्री भाग, कलेजोको मुखमा, कलेजोको भित्री नली जहाँनिर कलेजोको प्याङ्क्रियाजसँग जोडिन्छ त्यहाँसम्मको बाटोमा या पित्त थैलीहरूमा मासु पलाएको त्यो क्यान्सरको उपचार भनेको सम्भव भएसम्म अप्रेसन नै हो । अरू केही विकल्प छैन । यदि अप्रेसन गर्न सकिएन भनेँ अरू उपचारको माध्यामहरु रोगलाई आरामदायी बनाउने मात्र हो , रोग निको चै हुँदैन ।
जन्डिस भई सक्यो, रोग पत्ता पनि लाग्यो क्यान्सरको शङ्का लाग्यो भने त्यसकालागि प्रपोस्टेजिङ गर्नुपर्ने हुन्छ । त्यसकालागि आवश्यक पर्ने सबै खालका परीक्षणहरू सिटिस्क्यानदेखि एमआरआई, एमआरसिपीहरु गरेर ब्लडमा पनि हेर्नु पर्ने हुन्छ । सबै हेरेर मिल्ने छ भने मात्र अप्रेसन गर्ने हो । जहाँको समस्या छ त्यही ठाउँको फरक फरक अप्रेसन हुन्छ । समयमा अप्रेसन भयो र अप्रेसन राम्रो भयो भनेँ जन्डिस भएर क्यान्सर लागेको मानिसलाई १० वर्षसम्म बचाउन सकिन्छ । यदि उपचारमा ढिला भएको छ भनेँ वर्ष दिन बाँच्न पनि गाह्रो हुन्छ । जन्डिस भयो भन्दैमा झारफुक गरेर घटिहाल्ने या औषधी खाएर चमत्कार भई हाल्ने केही छैन । कतिपय जन्डिसहरू आउँछ र आफैँ ठिक पनि भई हाल्छ यदि ठिक नहुने खालका जण्डिसको लागि सर्जन डाक्टरकोमा जानै पर्नेहुन्छ ।
जन्डिस कसरी हुन्छ ?
रगतमा आरबिसी भन्ने हुन्छ त्यो ब्रेक डाउन भयो भनेँ एमलाईटिक भएर जन्डिस हुन्छ । अर्को कलेजोमा इन्फेक्सन (सङ्क्रमण) भयो भने पनि जन्डिस हुनसक्छ । आफ्नो मनले जथाभाबी औषधी खायो भने या भाइरल इन्फेक्सन भयो या जाँडरक्सीको सेवनले गर्दा हुने हेपिटी जन्डिस हो । अर्को मूल जन्डिस भनेको पोष्टहेपिटी सर्किजल जन्डिस भनेको कलेजोबाट निस्किएका पित्तको नलीको बाटो ब्लक हुनु हो ।
जन्डिसले कुन कुन चरण पार गरेपछि गम्भीर रूपमा पुग्छ ?
अब कसरी थाहा पाउने भन्ने कुरामा त्यति धेरै अप्ठेरो हुँदैन । सामान्यतया जन्डिसहरू सङ्क्रमण भएपछि पहेँलो नै हुन्छ । तर गम्भीर प्रकृतिको जन्डिस अझ बढी पहेँलो देखिन्छ । गम्भीर खालको जन्डिसको सङ्क्रमण छ भने जीउ चिलाउने हुन्छ । धेरै जना जीउ चिलायो भनेर छाला डाक्टरको भौँतारिएको पाइन्छ । शरीर पहिलो भएपछि देखिने लक्षण भनेको सर्किजल जन्डिसको शरीर चिलाउनु पनि हो । अर्को लक्षण भनेको पिसाब तोरीको तेल जस्तै अत्यन्त पहेँलो हुन्छ । दिसा खरानी जस्तो सेतो हुन्छ । सामान्यतया दिसा पहेँलो खालको हुन्छ तर सर्किजल जन्डिस भएका बिरामीको दिसा सेतो खरानी जस्तो हुन्छ । यी चार पाँच कुरा तपाईँमा देखिएको छ भने यो गम्भीर खालको जन्डिस हो भनेर तपाईँले ख्याल गर्नु पर्छ । सर्किजल जन्डिस हो भन्ने तपाईँलाई लाग्यो भने यस्तो अवस्थामा ग्याष्ट्रो सर्जनको सल्लाह लिनु पर्छ ।
त्यसो भए कलेजोमा देखिने सङ्क्रमण नै जन्डिस हो ?
पक्कै पनि हो । हामीले यसलाई भाइरल हेपाटाईटिस भन्छौँ । भाइरल हेपाटाईटिस पनि दुई थरी हुन्छ । एउटा ए र ई भन्ने यो केही समयमा आफैँ निको भएर जान्छ । अर्को भनेको बि, सि र डी यो सूक्ष्म रूपमा बसिरहेको हुन्छ । भइसकेपछि औषधीले पनि ठिक हुन्छ भन्छौँ हामी । यसलाई बेवास्ता गर्नु भयो भनेँ कलेजोको क्यान्सर हुने सम्भावना बढेर जान्छ । पहिलो कुरा कलेजो जोगाउनु प¥यो । कलेजोमा देखिने सङ्क्रमणले मुटु, किड्नी, फोक्सो र ब्रेन सबैमा असर पार्छ । हाम्रो
शरीरमा जति रगत प्रवाह हुन्छ त्यसको ८० देखि ८५ प्रतिशत टक्सिनहरू कलेजोले नै क्लियर गर्छ ।
जन्डिसबाट बच्न र कलेजो बचाउन सर्वसाधारणले के कुरामा ध्यान दिने ?
जथाभाबी आफ्नै मनले औषधी नखाने । डाक्टरहरूले प्रयोग गर्न भनेर अनुमति दिएका औषधीहरू मात्र त्यो पनि निर्धारित समयमा मात्र खानु पर्छ । मनपरी औषधी खाने बानी छाड्नु पर्छ । कुन औषधी कति मात्रामा खाने भन्ने डाक्टरहरूले दिएको समय र डोजका आधारमा निर्भर गर्छ । जस्तो की सामान्य हामीले प्रयोग गर्ने सिटामोलले पनि लिभर कलेजो फेलियर गराउँछ । तपाईँलाई जन्डिस भएको शङ्का लाग्ने बित्तिकै परीक्षणकालागि आउनु भयो भने बच्न सकिन्छ ।