सुनसरी।  धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ले स्वास्थ्य सेवा क्षेत्रलाई गुणस्तरीय, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन व्यापक सुधार योजना अघि सारेको छ।

सरकारको चैत १३ गतेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत स्वास्थ्य, शिक्षा र मानव विकास क्षेत्रको बुँदा नं ८५ अनुसार सुधार कार्य अघि बढाइएको हो।

प्रतिष्ठानका उपकुलपति प्राडा विक्रमप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले स्वास्थ्य सेवामा संरचनात्मक सुधार ल्याउने उद्देश्यसहित १३ बुँदे निर्णय गरेको छ। प्रतिष्ठानमा विगतदेखि सञ्चालनमा रहेको १० प्रतिशत नि:शुल्क शय्या सेवालाई थप पारदर्शी, व्यवस्थित र उत्तरदायी बनाउन, सेवा लिइरहेका बिरामीको अद्यावधिक विवरण ‘रियल टाइम लाइभ ड्यासबोर्ड’ मार्फत सार्वजनिक गर्ने व्यवस्था गरिने निर्णय गरेको छ ।

त्यसैगरी प्रतिष्ठानका शिक्षक, स्वास्थ्यकर्मी तथा कर्मचारीको दैनिक हाजिरी गर्नका लागि बायोमेट्रिक हाजिरी प्रणाली विगतदेखि सञ्चालनमा रहेको जनाउँदै प्रतिष्ठानका उपकुलपति प्राडा श्रेष्ठले दैनिक ८:३० बजेभन्दा ढिला आउने तथा ४:४५ भन्दा छिटो जानेका लागि गयल हुने व्यवस्था यसअघि रहेको उल्लेख गर्नुभयो ।

उहाँका अनुसार कुनै कारण ढिलो भएमा वा छिटो जानु परेमा सोको पर्याप्त कारण खुलाइ निवेदन दिनुपर्ने व्यवस्था यसअघि पनि रहेकामा आगामी दिनमा थप कडाइ र प्रविधिमैत्री बनाउने गर्ने निर्णय भएको छ ।