सुनसरी । तराईमा थारु समुदायले मनाउने सिरुवा पर्व सुरु भएको छ । सिरुवामा विभिन्न ग्रामथानमा मेला लाग्ने गर्दछ ।
सिरुवामा वैशाख महिना भरी विभिन्न ठाउँमा रहेका ग्रामथानमा गएर पूजाआजा गरी रोगव्याध नलागोस् भनेर पूजा गर्ने गरिन्छ ।
आज बैशाख ३ गते इटहरी ४ स्थित कचना ग्रामथान तथा महादेव मन्दिरमा लागेको मेलामा श्रद्धालुहरुले पूजापाठ गरेका छन् ।
आज कै दिन इटहरी उपमहानगरपालिकाले स्थानीय विदा पनि दिन थालेको छ ।
कचना थानमा लाग्ने मेलामा अघिल्लो दिन देखी पूजा गर्ने श्रद्धालुहरुको भिड लाग्ने गर्दछ । अघिल्लो बर्ष झैँ यस बर्ष पनि पूजा गर्नेहरुको भिड लागेको छ ।
यहाँ पूजाका लागि बैगुनको भार,फूलघडा र पानसुपाडी चढाउने गरिन्छ । पहिले थारु समुदायले मात्रै पूजा गर्ने यहाँ अहिले अन्य समुदायका मानिसहरुले पनि भाकल गर्दै बैगुनको भार चढाउँछन् ।
बैगुनको भार चढाउँदा शरिरका विभिन्न भागका मुसा तथा छालाका रोग निको हुने धार्मिक जनविश्वास रहेको छ । त्यसैले यहाँ बैगुनको भार वा भान्टा चढाउन टाढा टाढाबाट मानिसहरु यहाँ आउने गर्दछन् ।

बैगुनको भारलाई स्थानीय भाषामा भान्टा भन्ने भएकाले यस मेलालाई भान्टे मेला पनि भन्ने गरिन्छ । मन्दिरमा सहज रुपमा पूूजापाठ गर्ने वातावरण मिलाइएको कचना मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रोशन तामाङले जानकारी दिए ।
यस्तैसिरुवा मेलालाई व्यवस्थित र सुरक्षित बनाउन सुरक्षाकर्मीहरुसंग समन्वय गरेर सुरक्षा व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
अध्यक्ष तामाङका अनुसार हरेक वर्ष मन्दिरमा पूजाका लागि आउने भक्तजनहरूको सङ्ख्या वृद्धि भइरहेको छ । भाकल पूरा हुने भएकाले पनि यहाँ आउने मानिसहरुको संख्या बढ्ने गरेको उनले बताए ।
मन्दिरमा पूजाका लागि आउने श्रद्धालुहरुको संख्या बढ्दै गए पनि यहाँ लाग्ने मेला भने बर्षेनी घट्दै गएको छ । खाली जमिनको अभावमा मेला लगाउने स्थान अभाव हुँदा मेलामा व्यापार गर्न आउने व्यापारीहरुलाई समस्या हुन थालेको छ ।
बर्षेनी थपिएका घर तथा भौतिक संरचनाले खाली जमिन मासिदै गएकोछ । जसका कारण यहाँ मेला लगाउने ठाउँको अभाव हुने गरेको छ ।
मेला लगाउने स्थान अभाव हुँदा व्यापारीहरुले मुल बाटोमै आफ्नो व्यापार राख्न थालेका छन् । मेला मूल बाटोमै लाग्न थालेको छ । बर्षेनी मेलाको रौनक भने घट्दै गएको छ ।
















