सुनसरी । कोशी र मेचीका क्रसर व्यवसायी आन्दोलित भएका छन । क्रसर उद्योगको नवीकरण सहज रुपमा गर्ने वातावरण तयार गर्न सरकारले अनाकानी गरेको जनाउदै असार १८ गतेदेखी कोशी प्रदेशका सबै उद्योग बन्द गर्ने घोषणा गरेका छन् ।

इटहरीमा शुक्रबार पत्रकार सम्मेलन गरी कोशी प्रदेशका ब्यवशायीहरुले उद्योगको नवीकरण खुलाइ क्रसरका क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारसंग माग गरेका हुन् । 

   कर, दस्तुर, शुल्क लगाएतका राजस्व रकम बुझाउन जाँदा पत्रमा नविकरणको भाषा स्पष्ट नभएको कारण जनाई रकम बुझ्न नमानेको र उद्योगहरु नविकरण समेत नभएकोले असार १८ गतेसम्म समस्याको समाधान गर्न अल्टिमेटम दिएका छन । असार १८ गते भित्र पनि नवीकरण गर्न मातहतका निकायहरुलाई लिखित निर्देशन नआएको खण्डमा असार १९ गतेदेखि उद्योगहरुको बिक्रि बितरण तथा उत्पादन कार्य ठप्प गरि अनिश्चितकालको लागि बन्द गर्ने घोषणा गरिएको छ । 

      कोशी प्रदेशमा तीन दर्जन क्रशर उद्योग सञ्चालनमा रहेका छन । मन्त्रिपरिषद्को गत माघ ११ गतेको निणर्यबाट दर्ता भई हाल सञ्चालनमा रहेका तर मापदण्ड लगायतका कारण नवीकरण हुन नसकेका क्रसर उद्योगको हकमा ती उद्योगबाट कानुन बमोजिम लाग्ने कर, दस्तुर, शुल्क लगायतका राजस्व लिई २०८० असार मसान्तसम्म यथावत् रुपमा सञ्चालन गर्ने निणर्य भएको थियो ।

मन्त्रिपरिषद्को उक्त निणर्य अनुसार सम्बन्धित निकायले क्रसर उद्योग नवीकरण नगरेको भन्दै ब्यवशायी रुष्ट भएका हुन ।