विराटनगर । १०१ औ अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा कोशी प्रदेशका उत्कृष्ट २ वटा सहकारी र एक जना व्यक्तित्वलाई सम्मान गरिएको छ । कोशी प्रदेश सरकारको उद्योग कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको प्रदेश सहकारी राजिस्ट्रार तथा प्रशिक्षण कार्यालय सुनसरीले विराटनगरमा औपचारिक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।
सम्मानित हुनेमा दमकमा रहेको मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र बचत ऋणतर्फ महिला बचत तथा ऋण सहकारी संस्था इटहरी रहेका छन् । त्यसै गरी सहकारी अभियानमा लागेका व्यक्तित्वमा नेपाल बहुउद्देश्यीय सहकारी संस्था झापाका निवर्तमान अध्यक्ष रामचन्द्र उप्रेती रहेको मन्त्रालयले जनाएको छ।
‘आर्थिक वर्ष २०७९÷८० मा नियमन क्षेत्रभित्रका विषयगत सहकारी सस्ताहरूमध्ये संस्थागत सुशासनका सूचकाङ्कका आधारमा मूल्याङ्कन संस्था छनौट गरिएको पुरस्कार छनौट समितिका संयोजक मनोज कार्कीले जानकारी दिए ।
त्यस्तै लामो समयदेखि सहकारी क्षेत्रमा क्रियाशील रही सहकारी अभियानलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेलेका कारण उप्रेतीलाई सहकारी व्यक्तित्व सम्मानबाट सम्मानित गरिएको कार्कीले बताए ।
सम्मान पछि बोल्दै ऊप्रतिले सहकारीमा लाग्ने बेला पुरस्कार पाइन्छ भनेर नभई आफ्नो चाहना र जिम्मेवारी सम्झेर लागेको बताउँदै काम गर्दै जाँदा सरकारी निकायबाट यसरी सम्मान पाउँदा खुसी लाग्नुका साथै अझै काम गर्न प्रेरणा मिलेको बताए ।
सहकारीको विषयमा बोल्दै उप्रेतीले सहकारी संस्था आफैमा समस्या नभई त्यसको नेतृत्व गर्ने व्यक्तिहरूमा समस्या देखिएका कारण पछिल्लो समयमा सहकारी संस्थाहरूमा समस्या देखिएको बताए । सहकारीलाई सुधारेर जानु पर्नेमा सहभागीले जोड दिएका थिए ।
उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव लेखराज दाहालले सहकारीको बारेमा नकारात्मक प्रचारहरू धेरै भएको बताए । उनले सहकारीका बारेमा भएका नकारात्मक प्रचार चिर्नको लागि मन्त्रालयले पहल गर्ने बताए ।
त्यसै गरी राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक शिव डाँगी, जिल्ला सहकारी सङ्घ झापाका अध्यक्ष तथा महासङ्घका सञ्चालक गणेश ढकाल, कोशी प्रदेश सहकारी सङ्घका अध्यक्ष डिल्ली पोखरेल, जिल्ला सहकारी सङ्घ सुनसरीकी अध्यक्ष योगमाया सुवेदीले सहकारी क्षेत्रमा अहिले देखिएका समस्या न्यूनीकरण गर्न पहिला नेतृत्व तहमा जाने व्यक्तिहरू आफै सुध्रिनु पर्नेमा जोड दिए ।