विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सीमित स्रोत साधनको बाबजुद पनि विपद्को क्षेत्रमा धेरै काम भएको बताएका छन् । मोरङ जिल्लामा जलवायुजन्य विपद् जोखिमहरूप्रति समुदायको उत्थानशीलता सुदृढीकरण परियोजना सुरु भएको जानकारी गराउन आयोजना गरिएको कार्यक्रममा मुख्यमन्त्री कार्कीले कोसी प्रदेश विपद् जोखिममा रहेको र त्यसमध्ये मौसमजन्य जोखिम धेरै रहेको बताए ।
कोसी प्रदेशले विपद् जोखिमको नीतिमा धेरै कुरा समेटिएको जानकारी दिँदै प्राविधिक जनशक्ति नभएका बताए । मुख्यमन्त्री कार्कीले तीन तहको सङ्घीयता भनेको माथिका मन्त्रीले आफ्नो हातमा नचाएर हिँड्ने खालको सङ्घीयता बनाउन खोजिएको आरोप लगाए ।
‘प्रदेश सभाले पास गरेको कानुनमा सङ्घका मन्त्रीले गलत भो भनेर बुझ्छन्’, कार्कीले भने, ‘प्रदेशले गरेको काममा सङ्घका कर्मचारी गलत टिप्पणी गरेर हिँड्छन् । यो खालको हाम्रो सङ्घीयतामा
अभ्यास छ
।’ नयाँ संरचना अन्यायमा परेको बताउँदै कार्कीले प्रदेश हुनुभन्दा पहिला नेपाल रामराज्य थियो जसरी टिप्पणी आउने बताए । ‘अलिकति केही भयो भने प्रदेश खारेज गर्नुपर्छ भनेर टिप्पणी आईहाल्ने गरेको छ, उनले भने, ‘प्रदेश संरचनाप्रति नकारात्मक टिप्पणी आइरहेको अवस्थामा पनि सीमित स्रोत साधनका बाबजुद जति विपद् व्यवस्थापनको क्षेत्रमा काम संघिय सरकार भन्दा बढी गरेका छौँ ।’
विकास निर्माणका काम गर्दा हुने क्षतिका बारेमा नसोचेका कारण पनि मौसमजन्य विपद्मा धेरै दुख खेप्नुपरेको कार्कीको भनाईछ ।
उर्लाबारी नगरपालिकाको आयोजनामा भएको परियोजना सुरु भएको जानकारी गराउने उद्देश्यले आयोजना गरिएको बैठकमा मोरङ क्षेत्र नम्बर १ (क) कोसी प्रदेश सभा सदस्य उमाकान्त गौतम, जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई, प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादव लगायतले आर.आर.एनले सञ्चालन गरेको परियोजना उदाहरणीय बन्नेमा आफूहरू विश्वस्त रहेको बताएका थिए ।
मोरङ जिल्लामा जलवायुजन्य विपद् जोखिमहरूप्रति समुदायको उत्थानशीलता सुदृढीकरण परियोजनाको विकास साझेदार आर.आर.एन रहेको छ भने कोष साझेदार जापान सरकार साप्ला नीर रहेको छ ।
नेपाल ग्रामीण पुनरुत्थान संस्था (आर.आर.एन)की व्यवस्थापक लक्ष्मी कार्कीले परियोजनाको कार्यक्षेत्र उर्लाबारी नगरपालिकाका २ र ३ नम्बर वडामा पर्ने तेली खोला रहेको जानकारी दिए । विपद् जोखिम, बच्ने उपायको बारेमा जानकारी गराउने लगायतका कार्यक्रम गरिने बताए ।
२५ करोड भन्दा बढीको परियोजना सञ्चालन
आर.आर.एनले सञ्चालन गरेको परियोजनाका लागि २५ करोड ३६ लाख ९२ हजार ४६० विपद् ब्यवस्थापनको लागि खर्च गर्ने जनाएको छ। परियोजना संयोजक प्रवेश कार्कीका अनुसार भौतिक संरचनामा ७६ प्रतिशत र गैर संरचनामा २४ प्रतिशत बजेट खर्च हुनेछ । जापान सरकार साप्ला नीरको आर्थिक तथा प्राविधिक सहयोगमा परियोजनाले नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँग स्वीकृति लिएको छ ।
गरिब ग्रामीण जनता, ग्रामीण महिला, किसान, भूमिहीन जनता र नेपाली समाजका अन्य पिछडिएका र सामाजिक रूपमा उत्पीडित वर्गहरूलाई उनीहरूको सामाजिक आर्थिक सशक्तीकरणको अवसर प्रदान गरी जीवन स्तरमा सुधार गर्ने भनिएको छ। परियोजनाको लक्ष्य मोरङ जिल्लामा बाढीबाट हुने क्षति कम गर्ने तथा बाढी जोखिममा रहेका समुदायहरूको जीविकोपार्जन र जलस्रोतको व्यवस्थापन सुधार गर्ने रहेको परियोजना संयोजक कार्कीले बताए ।
परियोजना मार्फत ड्याम, तार जाली, तटवन्ध, पर्खाल आदि रहेको र सामान्यतर्फ वृक्षारोपण, जलाधार व्यवस्थापन रहेको उनले बताए । गैर संरचनातर्फ विपद् तथा जलवायु सम्बन्धी योजना, भूमि उपयोग नीति, क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन हुने भनिएको छ । परियोजनाको अवधि २०२३ मे ११ देखि २०२६ मे १० सम्म रहेको कार्कीले जानकारी दिए ।