विराटनगर । कोशी प्रदेशमा सरकार बनाउन गठबन्धन दलसँग राप्रपा सामेल नभए पनि सभामुखलाई सहित जोडेर बहुमत दाबी गर्ने गठबन्धन दलहरूले तयारी गरेका छन् । 

प्रदेश प्रमुखले संविधानको धारा १६८(२) अन्तरगत रहेर सरकार गठनका लागि दिएको म्याद सकिन लाग्दा गठबन्धन दलले सभामुखलाई समेत जोडेर बहुमत भएको दाबी गर्ने तयारी गरेका हुन्। 

राप्रपालाई गठबन्धन दलमा सामेल गराउने अन्तिम प्रयास भइरहेको छ, श्रोतले भन्यो,यदि राप्रपा गठबन्धनमा नआए पनि सभामुखको समेत सङ्ख्या जोडेर दाबी गरिने तयारी छ । 

राप्रपा गठबन्धनमा नआए पनि सभामुखलाई समेत जोडेर बहुमत दाबी गर्ने तयारी भएको नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले बताए । 

उनले सभामुखलाई गन्न हुने नहुने भन्ने कुरा  संवैधानिक इजलासको काम भएको बताए । उनले आज सम्म सङ्घ र प्रदेशहरूमा सरकार गठन हुँदा सभामुखको समेत संख्या जोडेर दाबी पेस गर्ने गरिएकाले आफूहरूले पनि सभामुखलाई जोडेर दाबी पेस गर्ने बताए 

उनले भने, “आज सम्म कुनचाँही सरकार गठन हुँदा सभामुखको सङ्ख्या जोडिएको छैन ? हामी पनि यस अघि देखिकै निरन्तरताको प्रक्रियामा सभामुखलाई जोडेर बहुमत सहित सरकार गठनको दाबी पेस गर्छौ । ” 

ओखलढुङ्गा १(२)बाट माओवादीका तर्फबाट विजयी भएका बाबुराम गौतम सभामुख भएसँगै उनले गएको पुस २८ गतेको कोशी प्रदेश सभाको बैठकमा सभामुख पदमा रहुन्जेलका लागि दलको सदस्यता त्याग गरेको घोषणा गरिसकेका छन् । 

सभामुखले दलको सदस्यता नै त्यागेको अवस्थामा कोशी प्रदेश सभामा माओवादीको १२ मात्रै सदस्य रहने संविधान विद् चन्द्रकान्त ज्ञवालीले बताए । 

उनले प्रश्न गरे, सभामुख माओवादीको  हुन्छ ? उहाँ कुनै पनि दलको होइन कोशी प्रदेश सभाको अल इन वान हो । 

ज्ञवालीले सरकार गठनका विषयमा सभामुखलाई जोड्नु र सङ्ख्या मान्नु पूर्णतया गैर संवैधानिक भएको  दाबी गरे । ज्ञवालीले सभामुख हुनुभन्दा अगाडि सभामुख माओवादीबाट निर्वाचित सांसद भए पनि सभामुख भएपछि हाउसको लिडर भएको बताए । 

सभामुख सभामा तटस्थ हुने व्यवस्था र परिकल्पना संविधानले गरेको छ । हाउस भित्र कुनै पनि प्रस्तावमा बराबर मत भए निर्णायक मत दिने अधिकार सभामुखलाई छ । 

ज्ञवालीले भने सरकार गठनको विषयमा हाउस भन्दा बाहिरको कुरा हो । हाउस भन्दा बाहिरको कुरामा सभामुखको संलग्नता कानुन र संविधान विपरीत हो ।  

कोशी प्रदेशमा बहुमत पुर्‍याउन ४७ सिटको आवश्यकता पर्दछ । गठबन्धन दलले मुख्यमन्त्रीको रूपमा नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई अगाडि सारेको छ । उनको पार्टी काङ्ग्रेससँग कोशी प्रदेश सभामा २९ सिट रहेको छ । 

सभामुख गन्न नपाउँदा माओवादी केन्द्रको १२  सिट रहेको छ । गठबन्धन दलमा रहेको एकीकृत समाजवादीको ४ र जनता समाजवादीको १ सिट रहेको छ । सभामुखको सङ्ख्या नजोड्ने हो भने गठबन्धनसँग ४६ सदस्य मात्रै रहने छन् ।

सभामुख जोडेर बहुमत सिद्ध गरे चुप बस्दैनौ एमाले 

सभामुखलाई समेत जोडेर कोशी प्रदेशमा गठबन्धनले बहुमत सिद्ध गरे एमाले चुप लागेर नबस्ने एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले बताए । 

उनले सभामुख गौतमले कोशी प्रदेश सभा समक्ष गएको पुस २८ गते नै दलको सदस्यता परित्याग गरेको घोषणा गरेको बताए । उनले भने, सभामुखलाई दलको सदस्य भन्दा माथिल्लो आसनमा संविधान र कानुनले  राखेको छ । उहाँले दलको सदस्यको रूपमा आएर सरकार गठन प्रक्रियामा सहभागी हुनुहुन्छ भन्ने हामी विश्वास गर्दैनौ । उनले सभामुखको गरिमामा आँच आउने गरी प्रदेश प्रमुखको भूमिका माथि नै प्रश्न उठ्ने गरी सभामुखलाई जोडेर प्रदेश प्रमुखले  मुख्यमन्त्री नियुक्त नगर्ने बताए । यदि केन्द्रको गठबन्धनलाई हेरेर प्रदेश प्रमुखले सभामुखलाई समेत जोडेर गरिएको बहुमतको आधारमा मुख्यमन्त्री नियुक्त गरे एमाले चुप लागेर नबस्ने बताए । उनले सभामुखलाई जोडेर गरिएको बहुमत सिद्ध  एमाले स्वीकार नगर्ने बताए  । उनले   त्यस्तो परिस्थिति निर्माण आगामी दिनको कदम चाल्ने बताए ।