विराटनगर । कोशी प्रदेश प्रदेश सरकार अन्तरगत खानेपानी सिँचाई तथा ऊर्जा मन्त्रालयले ९२ प्रतिशत भन्दा बढी प्रगति गरेको छ ।  आर्थिक वर्ष २०७९/०८० को २५ गतेसम्ममा प्रदेश भित्र सवैभन्दा बढी चालु तर्फ ९५ दशमलव ५० प्रतिशत र पुँजीगत तर्फ ९२ दशमलव २२ प्रतिशत उपलब्धि गरेको मन्त्रालयले जनाएको छ । समग्रमा ९२ दशमलव ४२ प्रतिशत वित्तीय प्रगति हासिल गर्न सफल भएको मन्त्रालयका प्रवक्ता रमेशप्रसाद पौडेलले जानकारी दिए । यो प्रगतिलाई अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट प्रगतिको रूपमा लिइएको उनले जानकारी दिए । प्रगति प्राप्त हुनुमा मातहतका कार्यालय प्रमुख, कर्मचारी, उपभोक्ता समिति, निर्माण व्यवसायी र आम प्रदेशवासीको भूमिकाको कारणले उपलब्धि हासिल गर्न सकिएको उनको भनाई छ । 
प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार कोशी प्रदेशमा सबै भन्दा बढी प्रगति गर्ने मन्त्रालयमा आर्थिक मामिला तथा योजना मन्त्रालय देखिएको छ। त्यसपछि मात्र खानेपानी, सिचाई तथा ऊर्जा ऊर्जा मन्त्रालय परेको छ ।
मन्त्रालयगत प्रगतिलाई आधार मान्ने हो भन आर्थिक मामिला तथा योजना मन्त्रालयको चालु तर्फ ९४ दशमलव ७५ प्रतिशत र पुँजीगत ५१ दशमलव ९२ प्रतिशत हुँदा कुल वित्तीय प्रगति ९३ दशमलव ६३ प्रतिशत देखिएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयको ३१ दशमलव ७४ प्रतिशत प्रगति हुँदा उद्योग श्रम तथा रोजगार तर्फ  ६० दशमलव ८१ प्रतिशत वित्तीय प्रगति देखिएको छ।  कृषि मन्त्रालयको ८१ दशमलव ७९ प्रतिशत, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ७५ दशमलव ६९ प्रतिशत, पर्यटन तथा संस्कृतिको ८० दशमलव ३९ प्रतिशत हुँदा भुमि व्यवस्था तथा सहकारी तर्फ ३० दशमलव ५८ प्रतिशत मात्र वित्तीय प्रगति देखिएको छ। WhatsApp Image 2023-07-10 at 14.39.21

सडक पूर्वाधार तथा सहकारी विकासको ८३ दशमलव ४३ प्रतिशत,  सामाजिक विकास मन्त्रालयको ८० दशमलव ९८ प्रतिशत, यातायात व्यवस्था तर्फ ६८ दशमलव ७९ प्रतिशत प्रगति हुँदा स्वास्थ्य मन्त्रालयको ६७ प्रतिशत मात्र वित्तीय प्रगति गर्न सकेको छ।  प्रदेश योजना आयोगको ४६दशमलव ३१ प्रतिशत खर्च हुँदा प्रदेश ब्यवस्थापिका (प्रदेश सभा)को ६८ दशमलव २७ प्रतिशत वित्तीय प्रगति हासिल गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।  प्रदेश लोकसेवा आयोगको ८३ दशमलव ७१ प्रतिशत वार्षिक वित्तीय प्रगति हुँदा महान्यायाधिवक्ता कार्यालयको ८१ दशमलव ४५ प्रतिशत वित्तीय प्रगति गरेका छन् ।