विराटनगर । आर्थिक वर्ष सकिनै लाग्दा हुने विकास गुणस्तरहीन भएको पाइएको छ। झापाको कमल गाउँपालिकामा स्थानीयले कालोपत्रे सडक भत्काएका छन् भनेँ मोरङको रंगेलीमा पनि स्थानीयले गुणस्तरहीन काम गरेको भन्दै विरोध गरेका छन् । झापाको कमल गाउँपालिका वडा न ७ बार घरे हुँदै रङ्गपुर – गुहावारि जोड्ने कालो पत्रे सडक निर्माणको क्रममा गुणस्तरहीन कायम भएपछि स्थानीयले विरोध गरेका हुन् । निर्माण कार्यमा गम्भीर त्रुटि भएको भन्दै गाउँपालिकाले पनि विरोध जनाएको छ। सडक बोर्डले ठेक्का लगाएको उक्त सडकको कालोपत्रे निर्माणको काममा गुणस्तरमा ध्यान नदिएको गाउँपालिकाका उपप्रमुख प्रमीला न्यौपाने तिवारीले जानकारी दिइन् । ‘सडक निर्माणको मापदण्ड अनुसार काम नभएको र कालोपत्रे उक्किएको खबर पाएपछि पालिका अध्यक्ष र उपाध्यक्ष सहितको टोलीले स्थलगत निरीक्षण गरेका थियौँ, उनले भनिन्, काम मापदण्ड विपरीत भएको पाइएको छ ।’ पालिकाले निर्माण गरेका संरचनामा गुणस्तरको प्रश्न नउठेको भए पनि प्रदेश र सङ्घीय योजनाहरू विवादमा पर्ने गरेको उनले जानकारी दिइन् । ‘हाम्रो क्षेत्राधिकारको योजना नभएको कारण पालिका भित्रै भएको काममा पनि हामीलाई थाहा थिएन, उनले भनिन्, स्थानीयले खबर गरेपछि हामीले अनुगमन गर्दा गुणस्तरहीन भएको पायौँ, तत्काल सच्याउन सडक डिभिजन कार्यालयलाई अनुरोध गरिसकिएको छ।’ इन्जिनियरिङ अनुगमन र चेकजाँचमा नै ध्यान नदिँदा ठेकेदारले मनपरी गरेको स्थानीयको भनाई छ।
बनाइएको कालोपत्रे सडक सहजै भत्काउन सक्ने गरी उक्किने गरी बनाइएपछि स्थानीयले उक्काएर पालिकालाई देखाएका थिए । गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले सडक विभागका डिभिजन प्रमुखलाई नै कारबाही गर्नु पर्ने बताएका छन् । ‘पुरै सडक मर्मत नभए विभागीय कारबाही हुनु पर्छ, उनले भने, सडक निर्माणको काम मापदण्ड अनुसार नभएको र रातीको समयमा कालोपत्रे गर्न नपाइने प्रावधान हुँदाहुँदै रातको समयमा काम गरेको पाइएको छ ।’
स्थलगत निरीक्षणमा चरम लापरबाही भएकोले पुनः– कालो पत्रे नयाँ ढङ्गबाट काम गर्नु पर्ने र तत्काल नसच्याए सडक डिभिजन प्रमुखलाई नै कानुनी कारबाहीमा ल्याउने उनले चेतावनी दिएका छन् ।
रंगेलीमा पनि उस्तै
झापाको कमल गाउँपालिकामा मात्र हैन मोरङको रंगेलीमा पनि गुणस्तरहीन काम भएको पाइएको छ। आर्थिक वर्ष सकिनै लाग्दा हतारमा हुने विकासले गुणस्तरमा ध्यान नै नदिएको पाइएको छ। रंगेली नगरपालिका ९ स्थित दोहमना बजारमा सडक निर्माणमा गुणस्तरहीन काम भएको भन्दै स्थानीयले विरोध गरेका छन् । दोहमना बजारको पूर्वमा रहेको २ सय ८० मिटर लम्बाइको सडक कालोपत्रे गर्ने जिम्मा जय शम्भु कन्स्ट्रक्सन इलामले पाएको थियो । पुस महिनामा निर्माणका लागि भ्याट बाहेक ४९ लाख रुपैयाँमा ठेक्का पाएको निर्माण कम्पनीले वैशाख ३१ गतेसम्ममा निर्माण सकिसक्नु पर्ने थियो । निर्माणको काममा लापरबाही गरी ढिला गरेको ठेकेदार कम्पनीले अन्तिम समयमा आएर गरेको कालोपत्रे उक्किएको छ। सङ्घीय आयोजना कार्यान्वयन इकाई विराटनगरले निर्माण सुरु गरेको काममा अनुगमन गरेको आरोप वडा अध्यक्षले समेत लगाउँदै आएका छन् । सङ्घीय आयोजना कार्यान्वयन इकाईको कार्यालयले काम गरिरहेको कारण वडा र पालिकाले यसको अनुगमन गर्न नपाएको वडा नम्बर ९का वडा अध्यक्ष चूडामणि रेग्मीले बताए । गुणस्तरहीन काम भएको थाहा पाएपछि स्थानीयले कालो पत्रे उक्काएको ठाउँमा नगरपालिकाका मेयर दिलिप बगडिया समेत पुगेका थिए ।