विराटनगर । विराटनगरस्थित केशलिया खोलामा डुबेर एक जनाको मृत्यु भएको छ। शनिवार दिउँसो केशलिया खोलामा पौडी खेल्न गएकाहरू मध्ये एक जना बेपत्ता भएका थिए । विराटनगर महानगपालिका वडा नम्बर ६ केशलिया खोलामा गएका युवा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। विराटनगर ६ सरौचिया बस्ने महेश कुमार पासमानको छोरा १५ वर्षीय फत्ते पासमान शनिवार दिउँसा १ बजेतिर साथीहरूसँग केशलिया खोलामा गएका थिए । अन्य ३ जना सहित गएका फत्ते पासवान पौडी खेल्ने क्रममा खोलामा बगेर बेपत्ता भएपछि उसका साथीहरू छाडेर फर्किएकोमा गाउँलेले राती १० बजे प्रहरीमा खबर गर्न आएको वडा प्रहरी कार्यालय विराटनगरले जनाएको छ। राती नै गएको प्रहरी टोलीले खोजी गर्दा पनि पासवान फेला परेका थिएनन् । आज बिहानदेखि खोजी हुँदा उनको शव दिउँसो ४ बजे तिर मात्र फेला परेको वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी विजय श्रेष्ठले जानकारी दिए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।