विराटनगर । विराटनगरका पर्यटन व्यवसायी भविष श्रेष्ठ पर्यटन तथा हवाई यातायात समितिको सभापतिमा मनोनीत भएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको गठन तथा सञ्चालन सम्बन्धी नियमावली २०७३ को दफा २२ (ट) अनुसार कोशी प्रदेश समितिको पर्यटन तथा हवाई यातायात समितिको सभापतिमा मनोनीत भएका हुन् । महासङ्घका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले श्रेष्ठलाई समितिको सभापतिमा मनोनीत गरे । महासङ्घलाई सशक्त रूपमा अगाडी बढाउन समितिले भूमिका खेल्ने विश्वासको साथ सभापतिमा श्रेष्ठलाई नियुक्त गरिएको अध्यक्ष राउतले बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश पर्यटन तथा हवाई यातायात समितिको सभापतिमा मनोनीत भएका पर्यटन व्यवसायी श्रेष्ठले पर्यटन क्षेत्रको विकासको लागि आफूले सकेको काम गर्ने बताए । कोशी प्रदेश पर्यटनको सम्भावना बोकेको अरू प्रदेश भन्दा अब्बल भएर पनि ओझेलमा परेको स्मरण गराउँदै प्रदेश सरकार र पर्यटन बोर्डसँगको साझेदारीमा पर्यटनका गतिविधि बढाउनको लागि महासङ्घ मार्फत कार्यक्रमहरू अघि बढाइने स्पष्ट पारे । ‘कोशी प्रदेशको पर्यटन एक दुई जना पर्यटन व्यवसायीले धान्नु पर्ने बाध्यता छ,, उनले भने, सरकारको सहभागिता बढाएर सरकारी निजी साझेदारीमा काम गर्नुपर्छ ।’ भारतको बिहार, बङ्गाल र उत्तर प्रदेश सहित सिक्किमका पर्यटन व्यवसायीसँग सहकार्य गरेर पर्यटक भित्र्याउन सकिने भए पनि सरकारको नीति पर्यटन मैत्री बनाइनु पर्नेमा जोड दिए ।
अन्य समितिका सभापतिहरू पनि मनोनीत भएका छन् । कृषि उद्यम केन्द्र प्रदेश समिति सभापतिमा टिकाराज ढकाल, सदस्यता वितरण समितिको सभापतिमा कुमारमणि पोखरेल, उद्योग वाणिज्य परिषद् सभापतिमा भीम बहादुर पौडेल मनोनीत भएका छन् । त्यस्तै बैङ्क, वित्तीय, बिमा तथा पुँजी बजार समिति सभापतिमा सुवास आचार्य, स्वास्थ्य तथा सीप विकास समिति सभापतिमा राजन श्रेष्ठ, रोजगारदाता समितिको सभापतिमा श्रवण कुमार अग्रवाल, शिक्षा तथा सूचना समिति सभापतिमा रविन दाहाल , स्थानीय आर्थिक विकास समिति सभापतिमा वीरेन्द्रकुमार साह मनोनीत भएको अध्यक्ष राउतले बताए । निजी तथा साझेदारी समन्वय समिति सभापतिमा प्रितम खड्गी, कर तथा राजश्व समिति सभापतिमा देवकीनन्दन अग्रवाल, वस्तुगत समन्वय समिति सभापतिमा दीपक पाण्डे मनोनीत भएका छन् ।