विराटनगर । विराटनगर महानगरपालिकाले आन्तरिक आयमा उल्लेख्य वृद्धि गरेको छ। विराटनगर महानगरपालिकाले अहिलेसम्म महानगर भएपछिको सबैभन्दा धेरै आन्तरिक आय वृद्धि गर्न सफल भएको हो । लक्ष्य भेट्टाउन नसकेको भए पनि गत वर्षहरूको तुलनामा उल्लेख्य मात्रामा राजश्व सङ्कलन गर्न सफल भएको विराटनगर महानगरपालिका राजश्व परामर्श समितिका संयोजक तथा उपप्रमुख शिल्पा निराला कार्कीले जानकारी दिइन् । उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा ४९ करोड मात्र राजश्व सङ्कलन भएकोमा गत आर्थिक वर्ष २०७९/०८० को अन्त्यसम्ममा ६४ करोड आन्तरिक आय सङ्कलन भएको छ । विराटनगर महानगरपालिकाले सार्वजनिक गरेको आय सङ्कलन अनुसार नक्सा पास दस्तुरबाट ११ करोड भन्दा बढी राजश्व सङ्कलन भएको छ।  प्रशासनिक सेवा शुल्कमा २२ लाख ६ हजार ४५० रुपैयाँ  सङ्कलन हुँदा पार्किङ शुल्कबाट ८३ लाख ८० हजार सङ्कलन भएको छ । 
नक्सा पास दस्तुरबाट ११ करोड २ लाख ८० हजार २२३ रुपैयाँ १० पैसा आन्तरिक आय सङ्कलन भएको छ भने सिफारिस दस्तुरबाट २ करोड ८ लाख ८८ हजार १७२ रुपैयाँ ५२ पैसा आय सङ्कलन भएको महानगरपालिकाका वित्त व्यवस्थापन महाशाखा प्रमुख  सरोज गौतमले जानकारी दिए । उनका अनुसार व्यक्तिगत घटना दर्ताबाट १७ लाख ८७ हजार १७१ दस्तुर सङ्कलन हुँदा नाता प्रमाणितबाट ८ लाख ७४ हजार ७० रुपैयाँ सङ्कलन भएको छ । 
‘अन्य दस्तुर शीर्षकबाट २ करोड ५९ लाख ७२ रुपैयाँ सङ्कलन भएको छ, गौतमले भने,  प्रशासनिक दण्ड जरिवाना र जफतबाट १ करोड ४२ लाख ३९ हजार ९२३ रुपैयाँ सङ्कलन गर्दा लागत सहभागितामा ६ करोड ८८ लाख ७२ हजार २० रुपैयाँ देखिएको छ। ’ अन्य राजश्वबाट ९८ लाख ३ हजार ७९७ रुपैयाँ सङ्कलन भएको छ । मूल्य अभिवृद्धि करको ६७ हजार ९३५ रुपैयाँ राजश्व सङ्कलन भएको महानगरपालिकाले जनाएको छ।  
त्यस्तै सम्पत्ति कर १७ करोड ९४ लाख ६४ हजार ४५६ रुपैयाँ,   मालपोत करबाट १ करोड ३९ लाख ७४ हजार ६६३दस्तुर सङ्कलन भएको छ। जग्गा घर बहाल करमा १० करोड ६१ लाख २२ हजार ६६८,  बहाल बिटौरी कर ४ लाख ७५ हजार ६४२ रुपैयाँ सङ्कलन हुँदा  बाँडफाँड भई प्राप्त हुने मूल्य अभिवृद्धि कर ७ हजार ८४० रुपैयाँ रहेको छ।  शिक्षा सेवा शुल्कबाट ५ हजार मात्र सङ्कलन भएको छ भने सवारी साधन कर साना सवारीबाट १३ लाख ३१ हजार ७५० रुपैयाँ सङ्कलन भएको महानगरपालिका राजश्व शाखाले जनाएको छ। 

बाँडफाँडबाट प्राप्त हुने विज्ञापन कर ७७ लाख ६४ हजार ५३०, अन्य मनोरञ्जन कर ११ लाख ७९ हजार ४५१, व्यवसाय कर ७ करोड ५८ लाख ३० हजार ३८० रुपैयाँ सङ्कलन भएको गौतमले जानकारी दिए । व्यवसाय रजिस्ट्रेसन दस्तुर ६४ हजार ५४०, कवाडी कर ३९ लाख २९ हजार ७५४, अन्य कर १ करोड २१ लाख २५ हजार ८३०, सरकारी सम्पत्ति बहालबाट आय १ करोड २६ लाख ९८ हजार २७४, ढल उपयोग सेवा शुल्कबाट ९६ लाख ३१ हजार ७४६ रुपैयाँ सङ्कलन हुँदा  विद्युत् सेवा शुल्कबाट ३२ हजार ३९० र अन्य सेवा शुल्कबाट २ करोड ४१ लाख ९२ हजार ५१३ रुपैयाँ सङ्कलन भएको महानगरपालिका वित्त व्यवस्थापन महाशाखा प्रमुख गौतमले जानकारी दिए ।