विराटनगर । विराटनगरमा रहेको राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २६ औ स्थापना दिवस मनाएको छ। दिवसको अवसरमा विराटनगरमा रहेको सहकारी अध्ययन तथा सूचना केन्द्र भवनको उद्घाटनसँगै हस्तान्तरण गरिएको छ । पाँच तले भवन निर्माणको काम सुरु गरेको भए पनि ३ तला निर्माण सकेर हस्तान्तरण भएको सहकारी संस्थाका अध्यक्ष जीवन काफ्लेले जानकारी दिए । राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड विराटनगरको २६ औँ स्थापना दिवसको अवसरमा नव निर्मित राष्ट्रसेवक भवनको समुद्घाटन गरिएको काफ्ले बताए ।
विगत ३ वर्ष अगाडी निर्माण सुरु भएको यस सहकारी पुरानो भवनबाट नयाँ भवनमा सर्न लागेको छ । भवन निर्माण गर्नको लागि कोशी प्रदेश सरकार र राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्थाको संयुक्त लगानीमा निर्माण भएको भवनमा करिब २ करोड लागेको अनुमान गरिएको छ ।
'नव निर्मित भवनमा सहकारी अध्ययन तथा सूचना केन्द्रको रूपमा विकास गरेर लग्ने गरि काम भएको छ, काफ्लेले भने, सहकारीहरूको अध्ययन, अनुसन्धान तथा सहकारीहरूको तथ्याङ्कलाई एकद्धार सुचना यहाँ राखिनेछ ।' प्रदेश सरकारको सहरी विकास तथा भवन निर्माण कार्यालयले बिहीबार नै निर्माण सम्पन्न भएको ३ तले भवन सहकारी संचालक समितिलाई हस्तान्तरण गरेको छ। कार्यक्रममा नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइराला, मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, सहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरका निमित्त प्रमुख रुद्रनारायण मिश्रले भवनको उद्घाटन गरेका थिए ।
कार्यक्रममा राष्ट्रसेवक सहकारी स्थापना गर्न सुरुका वर्षहरूमा सहयोग गर्ने पूर्व निजामती कर्मचारी सुरेन्द्र राईलाई सहकारीका पूर्व अध्यक्ष दधिराम दाहालको स्मृतिमा स्थापित पुरस्कारबाट पुरस्कृत तथा सम्मानित गरिएको छ ।