विराटनगर ।  झुटो विवरण पेस गरेर ३ जनालाई नागरिकता बनाएको आरोपमा २ जना पूर्व ब्रिटिस लाहुरे जेल चलान भए पनि नागरिकता बनाइदिने जिल्ला प्रशासन कार्यालयका कर्मचारीलाई भने उन्मुक्ति  दिइएको छ । 


झुटो विवरण पेस गरेर बाबु बन्ने र बाबु बन्न सहयोग गर्ने दुई जना जेल जाँदा पनि नागरिकता बनाइदिने जिल्ला प्रशासन कार्यालयका तत्कालीन अधिकारीका बारेमा भने अनुसन्धान समेत नभएको पाइएको छ ।


मोरङ लेटाङका सूर्यहाङ लिम्बुले नक्कली बाबु बनेर पोखर –१६ का २९ वर्षीय गणेश गुरुङ, पोखरा–१० का २१ वर्षीय रविन गुरुङ र पोखरा–१२ का १९ वर्षीय प्रशान्त मगरलाई मोरङबाट झुटो विवरण पेस गरेर नागरिकता  बनाइदिएको अनुसन्धानबाट खुलेको छ । 


सूर्यहाङ्गले गणेशलाई जेठो छोरो बनाएर सविन लिम्बूका नाममा रविनलाई माइलो बनाएर साजन लिम्बूका नाममा र प्रशान्तलाई कान्छो बनाएर सुरज लिम्बूको नाममा नागरिकता दिलाएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले बताए ।

 

उनीहरूको २०६५ असार २६ गते ९५, ९६ र ९७ नम्बरमा बेलबारी नगरपालिका वडा नम्बर ११ बाट जन्म दर्ता बनाएको कागज पेस गरेका थिए । 

बेलबारीबाट जन्म दर्ता बनाएको भए पनि वडा कार्यालयमा भने यस सम्बन्धी कुनै पनि काजगत फेला नपरेको प्रहरीले जनाएको छ । 

Belbari _ Document

अनुसन्धानका क्रममा हामीले त्यससँग सम्बन्धित कागजात झिकायौ, प्रवक्ता दाहालले भने, “वडा कार्यालयले सूर्यहाङका नामबाट २०७८ पुस २९ गतेसम्म बेलबारी–११ मा कुनै राजस्व दाखिला नभएको र बसाइँ सराईको अभिलेखमा कुनै विवरण दर्ता नभएको पत्र पठाएको छ ।”

प्रहरीका अनुसार बसाइँ सराई, नाता प्रमाणित तथा जन्म दर्ता प्रमाणपत्रमा स्थानीय पञ्जिकाधिकारीका रूपमा वडा सचिव बाबुराम ढुङ्गानाको हस्ताक्षर, स्टाम्प छाप र कार्यालयको छाप प्रयोग गरेको देखिएको छ  । 

तर, हस्ताक्षर, स्टाम्प छाप आफ्नो नभएको तथा कार्यालयको छाप नक्कली रहेको बयान ढुङ्गानाले  दिएका छन् । 

बेलबारीमा सूर्यहाङको जग्गा जमिन र बसोबास नदेखिएको तथा सबै कागजात किर्ते रहेको वडाध्यक्ष विक्रम राईले बताए । 

नागरिकता दिलाउने तथा प्राप्त गर्नेलाई कानुन अनुसार कारबाही हुनुपर्ने पत्र उनले प्रहरीलाई पठाएका छन् । 

तत्कालीन वडाध्यक्ष यमबहादुर पोखरेलले नागरिकताका लागि अनुसूची फारम लगायतका कागजात आफूले सिफारिस नगरेको बयान दिएका छन् ।

जन्मस्थान ताप्लेजुङ राखी एकै परिवारका दाजुभाइ बनाएर ३ जनाकै नागरिकता वितरण गरिएको रेकर्ड  जिल्ला प्रशासन कार्यालय मोरङमा छ । 

जिल्ला प्रशासन मोरङबाट बाट सविनको नाममा ०५–०१–७८–१०७८२, साजनको ०५–०१–७८–१०७८३ र सुरजको नाममा ०५–०१–०७८–१०७८४ नम्बरको नागरिकता जारी भएको छ । उनीहरूले २०७८ माघ ४ गते नागरिकता लिएका थिए ।  

नागरिकता लिन पेस गरेको काजगतमा गणेश (सविन)को  २०५२ फागुन २४ गते, रविन (साजन) को २०५५ साउन ९ र प्रशान्त (सुरज) को  २०६० पुस २० गतेको जन्म मिति उल्लेख छ  । उनीहरूको जन्म दर्ता पनि एकै दिन भएको छ । 

जन्म मिति अनुसार गणेशले २६, रविनले २३ र प्रशान्तले १८ वर्षको उमेरमा नागरिकता लिएको देखिन्छ । 

Nagarikata 2

नागरिकतामा जिल्ला प्रशासनका तत्कालीन प्रशासकीय अधिकृत चेतनाथ पोखरेलको हस्ताक्षर छ । 

मोरङबाट सरुवा भएर  पोखरेल हाल लोकसेवा आयोगको कार्यालय पोखरामा कार्यरत रहेको प्रशासनले जनाएको छ । 

‘प्रशासनबाट २६ र २३ वर्षको उमेरसम्म नागरिकता किन बनाइएन भन्ने कुराको खोजी नै गरेको पाइएन,’ एक कर्मचारी भन्छन्, ‘सामान्य तय नागरिकता लिने उमेर बढी भएपछि सर्जिमन गर्ने प्रचलन छ । तर उनीहरूको केशमा प्रहरीको सर्जिमन नगरी नागरिकता दिएको भेटिन्छ  ।’ 

जन्म मिति अस्वाभाविक देखिँदासमेत ध्यान नदिएकाले कर्मचारीको भूमिका पनि शङ्कास्पद देखिने उनको भनाइ छ ।

‘नागरिकता लिनेको उमेर धेरै थियो । त्यहाँमाथि १ जनाले बाबु बनेर एकै दिन ३ छोराको नागरिकतामा सनाखत गरिदिएका छन्,’ उनले भने, ‘राम्ररी छानबिन नगरेको पाइयो । फाँटकै ‘सेटिङ’ पनि हुनसक्छ ।’ 

उपभोक्ता अधिकारकर्मी उत्तम ढुङ्गेल यस घटनाले प्रशासनको भूमिकामा प्रश्न उठेको बताउँछन् । ‘२६ वर्षको उमेरमा नागरिकता लिनलाई मान्छे आउँदा प्रशासन चनाखो भएको देखिएन । जन्म मिति हेरेर पनि चासो राख्नुपर्ने थियो,’ ढुङ्गेल भन्छन्, ‘मिलीभगत नै हुनसक्छ । प्रशासनको भूमिका शङ्कास्पद छ ।’ 

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले नागरिकता प्रकरण अदालतमा गइसकेकाले आफूले केही नबोल्ने बताए । 

‘मुद्दामा दोषी देखिएकाहरूलाई कानुन अनुसार कारबाही हुन्छ,’ उनले भने, ‘यसको अनुसन्धान गर्न प्रशासनले नै प्रहरीलाई लेखेर पठाएको हो ।’ 

सेटिङ्ग मिलाउने अझै फरार 

झुटो विवरण बनाउने र नक्कली बाबु बन्न पैसा दिने व्यवस्था मिलाउने भने फरार रहेका छन् । 

मोरङका प्रहरी प्रवक्ता डिएसपी दाहालले नागरिकताका लागि आवश्यक सम्पूर्ण कागजात पोखरा–१० का अन्दाजी ८० वर्षीय टेकबहादुर गुरुङ र पोखरा–१६ का अन्दाजी २५ वर्षीय विवेक गौचन थकालीले तयार पारेको अनुसन्धानबाट खुलेको बताए । ‘सुरुमा टेकबहादुरमार्फत सूर्यबहादुरले सूर्यहाङसँग सम्पर्क गरेको देखिन्छ,’ उनले भने, ‘सूर्यबहादुरले पोखरेली युवाको नागरिकता बनाउन टेकबहादुर र सूर्यहाङको बिचमा पुलको काम गरेका रहेछन् ।’ 

सूर्यबहादुरमार्फत नागरिकता लिने ३ जना र त्यसका लागि कागजपत्र तयार पार्ने विवेक र टेकबहादुरको भेट सूर्यहाङसँग भएको अनुसन्धानबाट खुलेको छ । 

सन्तान छोरी मात्रै रहेकाले पनि अरूलाई छोरा बनाएर नागरिकताको सनाखत गरिदिन सूर्यहाङलाई सहज भएको प्रहरीको निष्कर्ष छ ।रकम खर्चिएर नागरिकता बनाए पनि युवाहरू बेलायत जान नपाएपछि मोरङ प्रशासनमा मौखिक उजुरी प¥यो । 

प्रशासनकै जाहेरीका आधारमा मोरङ प्रहरीले अनुसन्धान अघि बढायो । मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले विशेष टोली खटाएर यस घटनाको अनुसन्धान अघि बढाए । 

पोखरेलको निर्देशनमा सुरु भएको अनुसन्धानबाट पोखराका ३ जनालाई नक्कली बाबु खडा गरेर नागरिकता दिलाएको पुष्टि भयो ।