विराटनगर । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले कम्युनिस्ट पार्टी बिगार्ने काम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको आरोप लगाएका छन् । नेकपा एकीकृत समाजवादी मोरङले विराटनगरमा ४५ औ पुस्पलाल स्मृति दिवसको असरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा महासचिव भुसालले गुटबन्दी, एकले अर्कालाई गाली गर्ने, आफ्नै गुटकालाई समेत गाली गर्न बाकी नराख्ने जस्ता गतिविधि ओलीबाट भएको बताएका छन् ।
उनले ओली प्रधानमन्त्री भएपछि भाष्य नै बिग्रिएको आरोप समेत लगाएका छन् । ‘प्रधानमन्त्रीले महिनामा ३ पटक मात्रै राम्रा कुरा गरे भने तिन करोड जनतामा सकारात्मक सोच बन्छ,’ महासचिव भुसालले भने तर, ओली जी ले प्रधानमन्त्री पदलाई चिट्ठामा पाएको पद जस्तो गरेर उडाउनु भयो ।’ उहाँ प्रधानमन्त्री हुँदा विदेशीसँग गरिने व्यवहार हेरेर नै उहाँको राष्ट्रवाद बारे थाहा हुने बताए ।
उनले ओलीकै कारण घण्टीहरू उदय भएको समेत बताए । ‘अहिले घण्टीले केही पनि गरेको छैन । यो हावाहुरी बाट आएको जस्तो देखिन्छ । तर हामी सुध्रियौ न भने घण्टी मात्रै होइन शकको पनि उदय हुन सक्छ । हामीलाई छेस्काले पनि असर गर्न सक्छ । अब यसलाई सुधार गरेर जानुपर्छ’ उनले भने । दुई तिहाइको सरकार नढालेको भए घण्टीहरूको उदय नहुने उनको जिकिर रहेको छ । महासचिव भुसालले नेकपा एमालेले नर्कको बाटो रोजिसकेको समेत बताए ।
उनले एकीकृत समाजवादीको वडा देखिनै अब बन्ने पदाधिकारीले ५ वर्षे खाका ल्याउनु पर्ने समेत बताए । उसको खाका हेरेर मात्रै कमिटीमा राख्ने उनले बताए । ५ वर्षमा भित्रमा समाजवाद ल्याउने गरी समाजवादी पाटी बनाउने योजना रहेको बताए ।
एकीकृत समाजवादीले मोरङमा ४५ औ पुष्पलाल स्मृति दिवस तिन दिन सम्म मनाउने भएको छ । शनिवार प्रशिक्षण कार्यक्रम गरेको छ भने आइतबार बिहान विराटनगरको पुष्पलाल चोकमा पुष्पलालको सालिकमा माल्यार्पण गर्ने र बेलुका सबै पालिकमा दीप प्रज्वलन गर्ने एकीकृत समाजवादीका नेता महेश रेग्मीले बताए । रेग्मीका अनुसार सोमबार ट्राफिक चोकमा रक्तदान गरिने भएको छ ।