विराटनगर । चेक बाउन्स मुद्दा लागेपछि विनीत सोनारले जिल्ला प्रशासन कार्यालय मोरङ परिसरमै विष सेवन गरेका छन् । कटहरी गाउँपालिका–३ का ३२ वर्षीय सोनारले दिउँसो ४ बजेतिर कीटनाशक विषादी सेवन गरेका हुन् ।
उनी प्रहरीको खोजी सुचीमा लामो समयदेखि फरार रहेका थिए । उनी जिल्ला प्रशासन कार्यालय पुगेको जानकारी पाएपछि पक्राउ गर्नका लागि प्रहरी पुगेको थियो । आफूलाई पक्राउ गर्न प्रहरी आएको थाहा पाउनसाथ गोजीमा बोकेको कीटनाशक विषादी सेवन गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।
‘ट्रिक्कल’ नामक विषादी सेवन गरेपछि उनलाई तत्काल प्रहरीले उद्धार गरेर उपचारका लागि कोसी अस्पताल लगिएको प्रहरीले बताएको छ । अवस्था गम्भीर रहेका सोनारको उपचार कोसीमा सम्भव नभएपछि थप उपचारका लागि विराटनगरकै नोबेल शिक्षण अस्पताल लगिएको दाहालले बताए ।
सोनारले माटोको ठेक्कापट्टा गर्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय मोरङमा सोनारविरुद्ध चेक बाउन्ससँग सम्बन्धित २ वटा जाहेरी अलगअलग मितिमा परेको थियो ।
विराटनगर महानगरपालिका–१२ का प्रदीप भुजेलले २०७९ चैत २६ गते र विराटनगर–१ का विनोद ढकालले गत जेठ २२ गते उनी विरुद्ध किटानी जाहेरी दिएका थिए । भुजेलले २ लाख र ढकालले ६ लाख रकम उल्लेख गरेर जाहेरी दिएपछि प्रहरीले अलग अलग पक्राउ पुर्जी जारी गरेको थियो ।