विराटनगर । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले  सर्वोच्च अदालतको आदेशले आफूलाई राजीनामा दिन नभनेकोले राजीनामा दिनु नपर्ने बताएका छन् । सर्वोच्च अदालतको आदेश मान्नु आफ्नो दायित्व भएकोले  अदालतले दिएको आदेशलाई मानेर जाने बताए । न्यायालयको केन्द्र भनेको सर्वोच्च अदालत हो, सर्वोच्च अदालतले दिएको आदेश हामी सबैले मान्नु पर्छ ।  सम्मान गर्नु पर्छ , सम्मान गरेर अब अगाडी बढ्ने उनले बताए ।  उनले राजीनामा दिने बारेमा अहिले नै नसोचेको बताएका छन् ।  
निवेदकले पनि माग नगरेको र सर्वोच्च अदालतले पनि आदेश नदिएको कारण आफूले राजीनामा नदिने गौतमले बताए ।   ‘मेरो राजीनामाको बारेमा नमागिएको र नबोलिएको विषयमा मैले राजीनामा दिनु पर्ने वा बोल्नुपर्ने केही पनि छैन, उनले भने, हिजो एउटा परिस्थिति थियो, आवश्यकताको आधारमा गरियो, सर्वोच्चको आदेश पनि मैले केही भन्नु छैन ।’
अदालतले गलत र असंवैधानिक भनेर ब्याख्या गरिदिँदा समेत नैतिक रूपमा समेत गौतमले आफ्नो गल्ती स्वीकार गरेनन्  ।  सरकार गठन हुनै नसक्ने भएपछि बाटो खोलेको भन्दै आएका सभामुख गौतमले  सर्वोच्चको आदेश लगत्तै बोली फेरेका छन् । सर्वोच्चले सभामुख गौतमको भूमिकालाई असंवैधानिक भने पनि त्यसको बारेमा अदालतले राजीनामा दिनु वा नदिनु भन्ने बारेमा केही नबोलेकोले तत्काल राजीनामा नदिने बताएका हुन्  । ‘सरकार बनाउने र ढाल्ने काम राजनीतिक दलहरूको भएकोले कुन दलले बहुमत पु¥याउँछ र त्यही दलले सरकारको दाबी गर्ने भएकोले मेरो त्यसमा कुनै भूमिका नरहने भनेर सर्वोच्चले गरिसक्यो, गौतमले भने, अब सरकार बनाउने बारेमा मेरो भूमिका हुँदैन, दलहरूले बहुमत पु¥याएर लग्लान् भनेर नै मैले आशा गरेको छु ।’
सभामुख गौतमले आफूले हिजो गरेको निर्णयबाट आफूलाई आत्मग्लानि नभएको र त्रुटी गरेको समेत स्वीकार गरेनन् । सञ्चारपाटीले सोधेको प्रश्नमा सभामुख गौतमले भने, ‘मैले कुनै त्रुटी गरेँ भन्ने मलाई लागेको छैन, त्यति बेलाको आवश्यकता र बाध्यताले त्यो गरियो, गर्न मिल्छ र मिल्दैन भन्ने बारेमा संविधान र कानुनमा केही भनिएको थिएन, अब सर्वोच्चले भनेको कुरा नजिर कानुन सरह रहने भएकोले अब त्यो गर्न नपाउने भयो र गरिँदैन ।’