विराटनगर । सर्वोच्च अदालतले उद्धव थापाको मुख्यमन्त्री नियुक्तिलाई बदर गरेपछि हिक्मत कार्कीले कामचलाउ मुख्यमन्त्रीको  रूपमा पुन कार्यभार सम्हाल्दै छन् । सभामुख बाबुराम गौतम सहितको हस्ताक्षरलाई गणना गरेर प्रदेश प्रमुख परशुराम खापुंगले नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्री नियुत्ती गरेपछि कार्की निवर्तमान भएका थिए । 
तर सर्वोच्च अदालतको बिहीबारको फैसलाले थापाको नियुक्त असंवैधानिक भन्दै नियुत्ती बदर गरेपछि अर्को सरकार गठन नभए सम्मका लागि कार्की काम चलाऊ सरकारको मुख्यमन्त्री भएका हुन । काठमाण्डौमा रहेका कार्की आजै विराटनगर आउँदै छन् । उनले विराटनगर आएपछि ११ बजे मन्त्रालय जाने बताए । कुरा स्पष्ट छ उनले भने अदालतले उद्धव थापाको नियुक्ति बदर गरेपछि सरकार शून्यताको अवस्था हुन नदिन मेरै नेतृत्वको सरकारको निरन्तरता हो । संविधानले सरकार शून्यताको परिकल्पना गरेको छैन, उनले भने अर्को सरकार गठन नभए सम्मका लागि मुख्यमन्त्रीको रूपमा कार्यभार सम्हाल्ने छु । 
न्यायाधीश ईश्वर खतिवडा, आनन्द मोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले थापालाई मुख्यमन्त्री नियुक्त गर्ने सबै निर्णय बदर गर्दै एक साताभित्र नयाँ सरकार गठनका लागि आदेश दिएको छ ।फैसलामा एक साता भित्रमा संविधानको धारा १६८( २) अन्तरगत सरकार गठनको आदेशमा एक साता भित्रमा १६८( २) अन्तरगत सरकार गठन हुन नसके १६८ ( ३ ) अन्तरगत सरकार गठन गर्न उल्लेख छ । 
कोशी प्रदेश सभामा ९३ जना प्रदेश सभा सदस्य छन् । सरकार गठनको दाबी पेस गर्न ४७ सिटको आवश्यकता पर्छ । थापाले सभामुखको समर्थनसहित ४७ सिट पुर्‍याएर मुख्यमन्त्रीमा दाबी गरेका थिए । सरकार गठन प्रक्रियाका विरुद्धमा एमाले संसदीय दलका नेता समेत रहेका कार्कीले असार २२ गते रिट निवेदन दिएका थिए । सभामुखको समर्थनबाहेक बहुमत सङ्ख्या ४७ पुग्दैन थियो । थापाले  काँग्रेसको २९, नेकपा माओवादीको १२, नेकपा एकीकृत समाजवादी को ४ र जनता समाजवादी पार्टीको १ सांसद तथा सभामुखको छुट्टै १ गरेर ४७ सङ्ख्या पुर्‍याएका थिए । अदालतले सभामुखलाई सरकार गठनमा भूमिका खेल्न नपाउने फैसला सुनाएको छ । यसले गर्दा आगामी दिनमा पनि सत्ता गठबन्धनले सभामुखलाई गर्न सक्ने प्रयोगलाई पनि अदालतले वर्जित गरिदिएको छ ।