विराटनगर । कोशी प्रदेशका कामचलाउ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले काङ्ग्रेससँग मिलेर सरकार गठनका लागि एमाले तयार रहेको बताएका छन् ।
सर्वोच्च अदालतले उद्धव थापाको मुख्यमन्त्री नियुक्तिलाई बदर गरेसँगै पुनर्बहाली भएका हिक्मत कार्कीले कामचलाउ मुख्यमन्त्रीको रूपमा पुनः कार्यभार सम्हाल्दै छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रदेशको समृद्धिको लागि एमाले बाधक नहुने प्रस्ट पारे ।
देशका ठुला दलहरू एमाले र काङ्ग्रेस मिलेर जान सक्ने बताए । उनले भने, प्रजातन्त्र, सुशासनका लागि काङ्ग्रेससँग कुरा मिले हामी सँगै सरकार बनाएर जान सक्छौ । हामी ओपन छौ । उनले यस विषयमा कुराकानी पनि भइरहेको बताए ।
कार्कीले भने, ‘मुख्यमन्त्री दिन हामी तयार छौँ । बहुमत नभएपछि मुख्यमन्त्री दिन पनि तयार हुनुपर्छ । तर कार्यकाल बाँड्ने कुरामा म सहमत छैन ।’
उनले नेकपा एमाले पनि बहुमत पुर्याएर सरकार गठनका लागि प्रदेश प्रमुखको कार्यालयमा जाने सक्ने बताए । उनले भने साना साना दलहरू त सरकार गठनको दाबी गरेर जाने खोज्छन् भने ४० सिट रहेको एमाले नजाने कुरै भएन । उनले एमालेले बहुमत पुर्याउनका लागि कोशी प्रदेश सभामा रहेका दलहरूसँग कुराकानी भइरहेको बताए । हामी कुराकानी मै छौ तर अहिले सम्म फाइनल भइसकेको छैन । कार्कीले सरकार गठनका लागि एक सिट मात्रै कम रहेको दाबी गरे ।