विराटनगर । कोशी प्रदेशमा बहुमत पु¥याउनका लागि सभामुख बाबुराम गौतमलाई राजीनामा गराउने तयारी गरेका छन् ।
सभामुख विना कोशी प्रदेशमा सत्ता गठबन्धनलाई  बहुमत पुर्‍याउन समस्या भएपछि सभामुखलाई राजीनामा दिन लगाउने तयारी भएको हो । 
यस विषयमा सत्ता गठबन्धनका शीर्ष नेताहरूका बिचमा छलफल भइरहेको छ । छलफलका क्रममा सभामुख बाबुराम गौतमलाई  राजीनामा गर्न लगाएर भए पनि बहुमत सङ्ख्या पुर्‍याउने सहमति भएको छ । तर यस विषयमा औपचारिक निर्णय भने आउन बाँकी छ । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल सहित काँग्रेस सभापति शेरबहादुर देउवा, उप सभापति पूर्णबहादुर खड्का महामन्त्री विश्वप्रकाश शर्मा सहितको बैठकले सभामुखलाई राजीनामा गराएर भए पनि सत्ता गठबन्धनै सरकार बनाउने  निष्कर्ष निकालेको छ । 
कोशी प्रदेशमा बहुमत पुर्‍याउन ४७ सदस्य आवश्यक पर्दछ । सभामुख बिना ४६ सदस्य मात्रै भएपछि सत्ता गठबन्धनले सभामुखलाई राजीनामा गर्न लगाउने तयारी भएको हो । सभामुख बाबुराम गौतम माओवादीबाट सभामुख भएका हुन् । 
कोशी प्रदेशमा सत्ता गठबन्धनमा रहेका दलहरू मध्ये काङ्ग्रेसका २९, माओवादी केन्द्रका सभामुख सहित १३, एकीकृत समाजवादीसँग ४ र जनता समाजवादीसँग १ सदस्य रहेका छन् । 
प्रदेश सभा नियमावली नियम १६९ अन्तरगत सभामुख बाबुराम गौतमले उप सभामुख सृजना दनुवारलाई राजीनामा दिएको अवस्थामा कोशी प्रदेश सभामा माओवादीको सदस्य सङ्ख्या १३ हुने छ । माओवादीको १३ सदस्य गणना भएसँगै सत्ता गठबन्धनलाई सरकार गठनमा बहुमत पुग्ने छ । सभामुखले राजीनामा दिएको अवस्थामा उप सभामुखले सभा सञ्चालन गर्ने संवैधानिक व्यवस्था छ । 
उप सभामुखले पनि राजीनामा दिए के हुन्छ ? 
उप सभामुखले सभा सञ्चालन गरेको अवस्थामा विश्वासको मत लिने दिन सत्ता गठबन्धनको सदस्य सङ्ख्या ४७ पुग्ने निश्चित छ । तर विश्वासको मत लिने मिति अगावै उप सभामुखले राजीनामा दिए सत्ता गठबन्धनलाई थप समस्या हुने देखिन्छ । नेपालको संविधानको धारा १८२ को उप धारा ५ मा सभामुख र उप सभामुखको निर्वाचन नभएको अवस्था वा दुवै पद रित्त रहेको अवस्थामा प्रदेश सभाको बैठकको अध्यक्षता उपस्थित सदस्य मध्ये उमेरको हिसाबले ज्येष्ठ सदस्यले गर्ने उल्लेख छ । कोशी प्रदेश सभामा ज्येष्ठ सदस्य गयानन्द मण्डल हुन् । उनी नेपाली काङ्ग्रेसबाट निर्वाचित भएका हुन् ।