विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुंगले कोशी प्रदेशको अहिलेको काम चलाउ मुख्यमन्त्री को हो भनेर भन्न नसक्ने बताएका छन् । एमाले कोशीका संसदीय दलका नेता राम राना सहित प्रदेश प्रमुखको कार्यालयमा पुगेका एमाले प्रदेश सभा सदस्यहरूलाई सर्वोच्चको फैसलाको पूर्ण पाठ आइ नसकेकाले आफूले काम चलाऊ मुख्यमन्त्री को हो भन्न नसक्ने बताएका हुन् ।
एमाले प्रदेश सभा सदस्यहरू अहिलेको राजनीतिक सङ्कटका विषयमा कुरा गर्न प्रदेश प्रमुखको कार्यालयमा आज गएका थिए । 
प्रदेश प्रमुखको कार्यालयमा पुगेका एमाले कोशी प्रदेश संसदीय दलका उप नेता राम रानाले  कोशी प्रदेशमा सरकार विहीनताको अवस्था सृजना भएको भन्दै अहिलेको काम चलाऊ मुख्यमन्त्री को हो भनेर सोधेका थिए । रानाको जवाफमा सर्वोच्चको पूर्ण पाठ नआएकाले मैले भन्न नसक्ने प्रदेश प्रमुख खापुंगले जवाफ दिएका थिए । 

छलफलमा एमाले कोशीका सचिव तथा प्रदेश सभा सदस्य चिन्तन पाठकले सर्वोच्चको फैसलाले स्पष्ट रूपमा काम चलाऊ मुख्यमन्त्रीका विषयमा बोलेको भन्दै फैसला पढेर प्रदेश प्रमुखलाई सुनाएका थिए । एमालेका प्रदेश सभा सदस्य लीला वल्लभ अधिकारीले भने फैसला नआए पनि प्रदेश प्रमुखले राष्ट्रपति कार्यालयसँग समन्वय गरेर काम चलाऊ मुख्यमन्त्रीका बारेमा बोल्नु पर्ने सुझाव दिएका थिए । उनको सुझाव पछि यस विषयमा आफूले छलफल गर्न भुल गरेको बताए ।