विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश प्रमुखले कोशी प्रदेशमा सरकार शून्यताको अवस्था सृजना गरेको बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै प्रदेश प्रमुखले अदालतको आदेशलाई अवमूल्यन गर्दै काम चलाऊ सरकार तोक्न नसकेको बताएका हुन् ।
‘प्रदेश प्रमुख ज्यूबाट ईन्टरप्रिटेशन गर्ने काम भयो, उनले भने, सर्वोच्च अदालतले भने अनुसारको काम हुनु पर्ने त्यो भएन, एमाले दुई दिनको लागि बल जफ्ती गर्ने कुराको विपक्षमा रहेको छ ।’ कार्कीले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने सन्दर्भमा कोशी प्रदेशका प्रमुखबाट गलत भएको बताए । ‘प्रदेश प्रमुख ज्यूले जानेर गर्नु भयो या माथि गठबन्धनको प्रभावमा परेर गर्नु भयो यो उहाँले जान्ने कुरा हो, कार्कीले भने, फैसला कार्यान्वयन गर्ने कुरामा त्रुटि भएकै छ ।’
सरकार गठनको लागि दिइएको समय सीमा भित्र पर्याप्त सिट सङ्ख्या भयो भने मात्र दाबी पेस गर्न जाने एमालेले जनाएको छ। सर्वोच्च अदालतको फैसला पछि ७ दिन भित्र बहुमतको सरकार गठनको लागि आदेश दिएको थियो । कोशीका प्रदेश प्रमुख परशुराम खापुङले आज साँझ ५ बजेसम्मको समय तोकेका सरकार गठनको लागि आव्हान गरेका छन् । यो समय भित्र दलहरूले बहुमत सहित दाबी पेस गर्न नसकेमा संविधानको धारा १६८ (३) अनुसार ठुलो दलको हैसियतमा हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नु पर्नेछ ।
नेपाली काँग्रेसले आजै सरकारमा दाबी पेस गर्ने तयारी गरेको छ। विराटनगरमा पत्रकारसँग कुरा गर्दै नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापाले सभामुखलाई राजीनामा गराएर सरकार गठनको लागि बहुमत पु¥याउने दाबी गरे । उनले संवैधानिक ब्यवस्था अनुसार सरकारमा गठन हुने र त्यसकोलागि सभामुखले राजीनामा दिने बारेमा गठबन्धन दलहरू बिच सहमति भएको बताए ।