विराटनगर । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् । सङ्घीय गठबन्धनलाई प्रदेशमा जोगाई राख्नको लागि सरकारमा बहुमत पुर्याउन उनले सभामुख पदबाट राजीनामा दिएका हुन् ।
ओखलढुङ्गाको प्रदेश निर्वाचन क्षेत्र (२) बाट प्रदेशसभामा निर्वाचित भएका गौतम २०७९ पुस २९ गते सभामुख पदमा निर्विरोध निर्वाचित भएका थिए । सभामुख पदमै रहेर नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने दाव पत्रमा हस्ताक्षर गरेपछि उनीमाथि संवैधानिक र नैतिक प्रश्न उठ्दै आएको थियो । सभामुखले सरकार बनाउन हस्ताक्षर गरेको विषयलाई सर्वोच्च अदालतले अवैधानिक भन्दै थापाको सरकार बर्खास्त गरेपछि गौतमले फेरी उनलाई मुख्यमन्त्री कोलागि बहुमत पुर्याउन राजीनामा दिएका हुन् ।
गौतमले उपसभामुख सिर्जना दनुवारलाई सम्बोधन गरेर पदबाट राजीनमा दिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले दिएको समयभित्रै संविधानको १६८ को उपधारा २ अनुसार काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा थापाले मुख्यमन्त्री दाबी गर्दै छन् । थापालाई मुख्यमन्त्री बनाउन काँग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थन गरेका छन् । सरकार गठनको लागि प्रदेश प्रमुख परशुराम खापुङले आज बेलुका ५ः०० बजेसम्मको समय दिएका थिए ।