विराटनगर । सर्वोच्च अदालतले मुख्यमन्त्रीको नियुक्ति बदर गरेको ६ दिन पछि नेपाली काँग्रेस संसदीय दल कोशीका नेता उद्धव थापा मुख्यमन्त्री पुन नियुत्तः भएका छन् । असार २१ गते प्रदेश सभाका सभामुख बाबुराम गौतमको हस्ताक्षर बुझाएर बहुमत दाबी गरेका थापाको नियुत्तीलाई सर्वोच्च अदालतले बदर गरेको थियो ।
सभामुखको हस्ताक्षरलाई असंवैधानिक मानेपछि गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गर्न लगाएर बहुमत सङ्ख्या पुर्याएका थिए । कोशीमा बहुमत पुर्याउन ४७ सिटको आवश्यकता पर्दछ । माओवादीबाट सभामुख भएका गौतम सभामुख पदमा रहुन्जेल सत्ता गठबन्धनको बहुमत पुग्न नसक्ने भएपछि उनलाई राजीनामा दिन बाध्य पारिएको थियो । उनले अन्तिम समय सम पनि राजीनामा दिन मानेका थिएनन् । सत्ता गठबन्धनमा रहेका नेपाली काङ्ग्रेससँग कोशी प्रदेश सभामा २९ सदस्य रहेका छन् । यस्तै माओवादी केन्द्रसँग १३, एकीकृत समाजवादीसँग ४ र जसपा सँग १ सदस्य रहेका छन् । सबै दलले नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीको रूपमा समर्थन गरेका छन् ।
सत्ता गठबन्धन दलको तर्फका ४७ प्रदेश सभा सदस्यको हस्ताक्षर लिएर पुगेपछि प्रदेश प्रमुख खापुंगले संविधानको धारा १६८(२) अन्तरगत मुख्यमन्त्रीमा प्रदेश प्रमुखले नियुक्त गरे । सर्वोच्च अदालतले साउन ११ गते उद्धव थापाको नियुत्ती बदर गरेपछि प्रदेश प्रमुख परशुराम खापुंगले आज ५ बजे सम्मका लागि समय सीमा तोक्दै दलहरूलाई सरकार गठनका लागि आव्हान गरेका थिए । उनले संविधानको धारा १६८(२) अन्तरगत सरकार गठनको दाबी पेस गर्न आव्हान गरेका थिए ।