विराटनगर । कोशी प्रदेशमा पहिलो चरणमा ४ सदस्यीय मन्त्री परिषद् बनाउने तयारी भएको छ । मुख्यमन्त्रीमा नियुक्त भएको २२ दिनमा अदालतको आदेशबाट बराखास्तीमा परेपछि पुन मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाले सानो आकारको मन्त्री परिषद् विस्तारको तयारी गरेका छन् ।
थापाले आजै काङ्ग्रेसबाट एक, एकीकृत समाजवादीबाट एक र माओवादीबाट एक जनालाई मन्त्री नियुक्ति गर्ने तयारी गरेका छन् । मुख्यमन्त्री थापाले भने साँढे १० बजे पद तथा गोपनीयताको शपथ खाँदै छन् । उनले पद तथा गोपनीयताको शपथ खाएसँगै थप तीन जनालाई शपथ खुवाउने तयारी भएको छ । एकीकृत समाजवादी र नेपाली काङ्ग्रेसबाट मन्त्री बन्नेको नाम फाइनल भए पनि माओवादीमा भने अझै कसलाई मन्त्री बनाउने भन्ने निर्णय भइसकेको छैन । 
काङ्ग्रेसबाट प्रदीप सुनुवार पुन मन्त्री हुने छन् । ओखलढुङ्गा १ ( १) बाट विजयी भएका सुनुवार यस अघि पनि उद्धव थापा नेतृत्वको सरकारमा सहभागी थिए । यस्तै एकीकृत समाजवादीबाट भने कलमप्रसाद जवेगु पनि मन्त्री हुँदै छन् । उनी पनि अदालतले बरखास्त गरेको सरकारमा  मन्त्री भएका थिए । मावादीबाट भने कसलाई मन्त्री बनाउने भन्नेमा अझै टुङ्गो लागिसकेको छैन । सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमलाई मन्त्री बनाउने सहमति भएको थियो ।
तर उनलाई मन्त्री बनाउने की पुरानैलाई निरन्तरता दिने भन्ने विषयमा माओवादी भित्र कुरा मिलिसकेको छैन । तर पहिलो चरणमा बाबुरामलाई नै मन्त्री बनाएर जाने तयारी भएको माओवादी श्रोतले जनाएको छ । यस अघिको असंवैधानिक भनिएको मन्त्री परिषदमा सहभागी भएका जीवन आचार्यले यस पटक भने मन्त्री बन्न रहर नगरेको देखिएको छ । सरकार दिगो जान्छ की जाँदैन भन्नेमा छ । दिगो सरकारमा मन्त्री भएर के गर्नु भन्ने मुडमा आचार्य पुगेको उनी निकटहरू बताउँछन् । आचार्यले मन नगरे पहिलो चरणमा गौतम नै माओवादीबाट मन्त्री हुने छन् । माओवादी सांसद राजेन्द्र कार्कीले केन्द्रीय कमिटीको बैठक सकेपछि मात्रै कसलाई मन्त्री बनाउने भन्ने विषयमा टुङ्गो लाग्ने बताए ।