विराटनगर । पहिलो चरणमा को को मन्त्री बन्ने र कुन कुन मन्त्रालयको जिम्मा दिने भन्ने विषयमा कोशी प्रदेशमा सत्ता गठबन्धनका बिचमा सहमति भएको छ ।
सहमति भएपछि बिहान साँढे १० बजे रोकिएको शपथ ग्रहण कार्यक्रम आजै बेलुका ५ बजे हुने तय भएको छ ।
सत्ता गठबन्धनको बैठक पछि माओवादीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र एकीकृत समाजवादीलाई भौतिक पूर्वाधार मन्त्रालय दिने सहमति भएको छ ।
सहमति अनुसार सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम आर्थिक मामिला तथा योजना मन्त्री हुने भएका छन् ।
उनको नेतृत्वमा सरकारमा जाने माओवादीमा सहमति भएको छ । सहमति पछि आजै शपथ ग्रहण कार्यक्रम हुने भएको छ ।
एकीकृत समाजवादीका कमल प्रसाद जवेगु भौतिक पूर्वाधार मन्त्री हुने छन् । नेपाली काङ्ग्रेसका प्रदीप सुनुवारलाई भने सामाजिक विकास मन्त्रालयको जिम्मा दिने तयारी भएको छ । थप मन्त्रीको नियुक्ति भने सरकारले विश्वासको मत लिएपछि मात्र गर्ने तयारी छ ।
प्रदेश प्रमुख परशुराम खापुङले संविधानको १६८ को उपधारा २ अनुसार काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएका थापालाई मङ्गलवार मुख्यमन्त्री नियुक्त गरेका थिए।
थापालाई मुख्यमन्त्री बनाउन काँग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थन रहेको छ ।