विराटनगर । कोशी प्रदेशका तीन मन्त्रीलाई जिम्मेवारी तोकिएको छ। प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएसँगै उनले तीन जना मन्त्री थप गरेका छन् । पहिलो चरणमा ४ सदस्य मन्त्री मण्डल गठन भएको हो । नेपाली काङ्ग्रेसबाट मुख्यमन्त्री सहित २ जना र एकीकृत समाजवादी र माओवादीबाट एक एक जना मन्त्रीले शपथ लिएका हुन् ।   नेपाली काङ्ग्रेसबाट  प्रदीपकुमार सुनुवार मन्त्री भएका छन् ।  सभामुख पदबाट राजीनामा दिएका प्रदेश सभा सदस्य बाबुराम गौतम नेकपा माओवादीबाट मन्त्री बनेका छन् भने  नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगुले मन्त्री बन्ने मौका पाएका छन् ।  गौतमले आर्थिक मामिला तथा योजना, जबेगुले भौतिक पूर्वाधार विकास र सुनुवारले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री थापाको सिफारिसमा नियुक्त भएका मन्त्रीहरूले प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्  । 
सरकार निर्माणको लागि सभामुख पदबाट राजीनामा दिएका गौतम मुख्यमन्त्रीपछिको बरीयतामा आर्थिक मामिला मन्त्रीको रूपमा नियुक्त भएका हुन्  । यस अघि सर्वोच्चको आदेशबाट बर्खास्तमा परेको सरकारको मन्त्रीको रूपमा असार २१ गते जबेगु र सुनुवार समेत मन्त्री बनेका थिए । विना विभागीय मन्त्रीको रूपमा रहेका उनीहरू विना विभागीय हुँदै बर्खास्तमा परेका थिए ।  मन्त्रीको रूपमा जिम्मेवारी पाउनेमा सुनुवार र गौतम ओखलढुङ्गाबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् भने जबेगु  पाँचथरबाट निर्वाचित सांसद हुन् ।