विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर २० सेउती पुल नजिक भएको हत्यामा संलग्न रहेको आरोप मा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। गत साउन ५ गते इटहरी उपमहानगरपालिका २० सेउती पुल नजिक विराटनगर ५ का २८ वर्षीय रोहित चौधरीलाई लुटेरा समूहले गोली हानी हत्या गरेको थियो । गोली प्रहार गरी लुटपाटमा संलग्न रहेको मध्ये थप २ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको हो । पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका १ घर भई धरान ८ बस्ने ३० वर्षीय प्रकाश लिम्बु र विराटनगर महानगरपालिका १५ का ४१ वर्षीय अजय कुमार शर्मा रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी ऋषिराम कँडेलले जानकारी दिए । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, संघीय प्रदेश प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय इटहरीको टोलीले उनीहरूलाई बिहीबार पक्राउ गरेको कँडेलले जानकारी दिए । पक्राउ परेका शर्मा घटनामा प्रयोग भएको हतियार बेचबिखनमा संलग्न रहेको तथा लागु औषध मुद्दामा ४ वर्ष ८ महिना कैद भुक्तान गरी ४ महिना अघि छुटेको व्यक्ति भएको प्रहरीले जनाएको छ। प्रहरीले यस अघि २ जनालाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ। यस अघि पक्राउ परेका लेटाङ नगरपालिका १ का दीपक तिमिल्सिनालाई मुख्य योजनाकारको रूपमा रहेको प्रहरीले जानकारी गराउँदै आएको छ भने अर्को धरान १० का अनसन तामाङ १६ गते नै पक्राउ परेका थिए ।