सुनसरी । कोशी प्रदेशसभामा नयाँ सभामुख चयन अन्योलमा छ । रिक्त सभामुख चयनका विषयमा संविधानमा बाध्यात्मक व्यवस्था नरहेकाले कोशीको सभामुख चयनका विषयमा अन्योल थपिएको हो ।

निर्वाचन सम्पन्न भएपछि पहिलो बैठकको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने नेपालको संविधान २०७२ को धारा १८२ को उपधारा एकमा उल्लेख छ । सोही धाराको उपधारा ३ मा प्रदेश सभामुख र उपसभामुखको पद रिक्त भएमा प्रदेश सभाका सदस्यहरूले आफूहरू मध्येबाट निर्वाचन गरी प्रदेश सभामुख वा प्रदेश उपसभामुखको पद पूर्ति गर्नेछन् भन्ने उल्लेख छ । तर यति दिनभित्र चयन गर्नुपर्ने भन्ने बाध्यात्मक व्यवस्था छैन ।

प्रदेशका राजनीतिक दलहरूसँग परामर्श गरेर उपयुक्त समयमा सभामुखको निर्वाचन गर्ने तयारी गरेको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

कोशी प्रदेशको जटिल अंकगणितका कारण सभामुख चयन छिट्टै हुनेमा आशंका छ । सत्तापक्षसँग ४७ जना प्रदेश सभा सदस्य मात्र भएका कारण सभामुख बाबुराम गौतमलाई सभामुखबाट राजीनामा गराएर सरकार गठन गरेको हो ।

पुनः सत्तापक्षले सभामुख लिँदा सरकारले विश्वासको मत लिँदा र महत्त्वपूर्ण विधेयक निर्णयार्थ प्रस्तुत गर्दा अप्ठ्यारो अवस्था आउने भएकाले सत्तापक्ष सभामुख लिने पक्षमा छैन । उता प्रतिपक्षमा रहेका नेकपा एमाले र राप्रपाले सभामुख लिँदा मुख्यमन्त्री उद्धव थापा नेतृत्वको वर्तमान सरकार सुरक्षित हुने भएकाले उनीहरूले पनि सभामुखमा रुचि देखाएका छैनन् । सत्ता गठबन्धनले सरकारमा सहभागी नभए पनि सभामुख लिई दिन राप्रपालाई अनुरोध गर्ने भएको छ ।