विराटनगर । राजनीतिक दलमा महिलाको उपस्थिति कमजोर रहेको एक कार्यक्रमका सहभागीले औँल्याएका छन् ।  अहिले पनि दलहरूले महिलालाई नेतृत्वमा ल्याउनको लागि बेवास्ता गर्ने गरेको छलफलमा भनिएको छ ।  विराटनगरमा दलित महिला केन्द्र नेपालले आयोजना गरेको राजनीतिक दलमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी व्यवस्था र कार्यान्वयनमा देखिएको अन्तर विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले  हरेक तहमा महिलासँगै दलितको उपस्थिति कमजोर रहेको जानकारी दिइएको हो ।  राजनीतिको मूल प्रवाहीकरणमा महिला र दलितको अवस्था कमजोर रहको दलित महिला केन्द्र नेपालका उपाध्यक्ष  लक्ष्मी परियारले बताइन्  ।   
अनिवार्य कानुनी व्यवस्था हुँदासम्म सहभागिताको अवस्था कमजोर नदेखिए पनि व्यवहारिक रूपमा हेर्ने हो भने कहीँ पनि महिला र दलितले  आफ्नो उपस्थिति देखाउन सक्ने अवस्था नभएको बताइन् । प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरूमा महिला र  दलितको अवस्थाको बारेमा उनले कार्यपत्र प्रस्तुत गरेकी थिइन् । 
दलित महिला केन्द्र नेपालले कोशी प्रदेशका ५ वटा जिल्ला खोटाङ, ओखलढुङ्गा, मोरङ, सुनसरी र झापामा महिला जनप्रतिनिधिकोलागि क्षमता विकास कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्विस सरकार र अस्ट्रेलियन सरकारको सहयोगमा दलित महिला केन्द्र नेपालले कोशी प्रदेशका ३९ वटा स्थानीय तहका महिला जनप्रतिनिधिको क्षमता विकास गर्दै आएको जानकारी दिइएको थियो । यो कार्यक्रमले महिला र दलित जनप्रतिनिधिको भूमिकालाई अब्बल बनाउने काम भइरहेको दलित महिला केन्द्र नेपालका महासचिव गौरा नेपालीले बताइन् । कार्यक्रममा  मोरङ जिल्लामा रहेका राजनीतिक दलका नेता, पूर्व जनप्रतिनिधि, अहिलेका कार्यपालिकाका सदस्यका प्रतिनिधि मूलक सहभागिता रहेको थियो ।