विराटनगर । कोशी प्रदेशमा भएको अविरल  वर्षाको कारण  धेरै ठाउँमा क्षति पुगेको छ। अविरल वर्षासँगै आएको बाढी र पहिरोको कारण विभिन्न स्थानहरूमा सडक अवरोध भएको छ। ताप्लेजुङको मैवाखोलामा बाढी आई मेरिङदिन गाउँपालिका–३ मा दोभान बजार र आठराई त्रिवेणी गाउँपालिका–५ जोड्ने मोटरेबल पुलसम्म जाने ७ मिटर बाटो बाढीले बगाउँदा दुवै तर्फको सवारी आवागमन बन्द भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। 
सुनसरीको वराहक्षेत्र नगरपालिका–१ गुप्त बराहको भित्री सडक खण्डमा सडकमा पहिरो खसेको छ। पहिरो खस्दा बाटो अवरोध भएको प्रहरीले जनाएको छ । त्यस्तै इलाम नगरपालिका–४ स्थित अधिकारी चोकमा सडकमा पहिरो झरी बाटो अवरोध भएको छ ।  तेह्रथुमको छथर गाउँपालिका–र सिधुवा शुक्रवारे सडक खण्डको देविस्थानमा सडक माथिबाट पहिरो खस्दा बाटो अवरोध भएको छ । त्यस्तै ताप्लेजुङको फुङलिङ नगरपालिका–८ खोक्से खोला स्थित मेची राजमार्गमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरोध भएको प्रहरीले जनाएको छ।  बाढी र पहिरोमा अबरुद्ध भएको स्थानहरूमा खटिएको प्रहरी टोलीले स्थानीय निकायहरुसंग समन्वय गरी बाटो खुलाउने पहल भइरहेको जनाएको छ।  यसै गरी  झापाको अर्जुनधारा नगरपालिका–७ खुदुवावारी–शनिश्चरे सडक खण्डमा पर्ने बिरिङ खोलाको पुलको सडकको पुलमुनिको पङ्खामा बाढीले क्षति पु¥याएको छ । जीर्ण अवस्थामा रहेको पुलको प्रहरी टोलीको सहयोगमा  बाँध बाँध्ने कार्य भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।