विराटनगर । झापाको कमल गाउँपालिकाका अध्यक्षले कानुन विपरीत वडा अध्यक्षलाई पालिकाको कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेर विदेश सयर भएका छन् । गाउँपालिकामा उपाध्यक्ष हुँदा हुँदै पालिकाका अध्यक्ष हुकुमसिंह राईले वडा अध्यक्षलाई कार्यवाहक तोकेर जापान भ्रमणमा गएका हुन् । उपाध्यक्ष हुँदाहुँदै वडा अध्यक्षलाई कार्यवाहक दिएर विदेश भ्रमणमा गएपछि पालिकामा खैलाबैला मच्चिएको छ। पालिकाका अध्यक्षको कार्यशैली प्रति आलोचना सुरु भएको छ।
एक सातादेखि काठमाडौँमा रहेका राई प्रमुख प्रशासकीय अधिकृतलाई सोही कार्यालयमा राख्ने ध्याउन्नमा थिए । सरुवा भएर आएका अर्का प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नै नगराई काठमाडौँ गएका राई अहिलेका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यलाई थमौती गर्नु पर्ने डेलिगेसनमा काठमाडौँमै रहेका थिए । ७ दिनसम्म काठमाडौँमा बसेपछि विदेश भ्रमणमा जानु पूर्व कमल गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष अशोक सुब्बालाई कार्यवाहकको चिठी दिएका छन् ।
कानुनको दफा नै उल्लेख नगरी दिइएको पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा कमल गाउँपालिकाको अध्यक्ष श्री हुकुमसिंह राई मिति २०८० साउन १ गते कार्यालयको विशेष कामले बाहिर जानु पर्ने भएको हुँदा २०८० साउन १ गतेदेखि म उपस्थित नभएसम्मका लागि कार्यवाहक अध्यक्ष भई कामकाज गर्नु हुन अख्तियारी दिइएको ब्यहोरा जानकारीका लागि अनुरोध छ।’
अध्यक्ष राई ७ दिन पहिलादेखि नै कार्यालयमा नरहेको भए पनि गाउँपालिकाकी उपाध्यक्ष प्रमिला नेउपाने तिवारी कार्यालयमा दैनिक जनतालाई सेवा दिई रहेकी छिन् ।
नेपाली काङ्ग्रेसबाट निर्वाचित अध्यक्ष राईले भदौ ९ गते मात्र आउने बताइएको छ। अध्यक्ष विदेश गएको बारेमा जानकारी भए पनि कार्यवाहक अध्यक्षको जिम्मेवारी वडा अध्यक्षलाई दिइनु कानुन विपरीत हुने उपाध्यक्ष तिवारीले बताइन् । ‘अध्यक्ष नहुँदा उपाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिनु पर्ने स्थानीय सरकार सञ्चालन ऐनमा व्यवस्था गरिएको छ, उपाध्यक्ष तिवारीले भनिन्, अध्यक्ष ज्यूले के गर्न खोज्नु भएको हो मलाई थाहा भएन, वडा
अध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएर विदेश जानु भएको भन्ने सुनिन आएको छ।’
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ उपदफा ४ (क) अनुसार अध्यक्ष वा प्रमुखको कायम कर्तव्य र अधिकार सम्बन्धी व्यवस्थाको बुँदा नम्बर १२ मा सात दिन भन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै पनि सदस्यलाई कार्यभार दिने भनिएको छ। उनले वडा अध्यक्षलाई कार्यवाहक तोक्दा तिवारी गाउँपालिकाको काममा नै व्यस्त रहेकी थिइन् ।