विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने दिन सोमबारको प्रदेशसभा बैठकमा नेकपा एमाले र राप्रपाका जेष्ठ जेष्ठ सदस्यहरु अनुपस्थित हुने निवेदन दिएका छन् ।
कोशी प्रदेश संसद् सचिवालय कार्यावस्था शाखामा एमाले र राप्रपाका ज्येष्ठ सदस्यहरूले भोलीको सभामा उपस्थित हुन नसक्ने भन्दै निवेदन दर्ता गराएका छन् । कोशी प्रदेश सभा सचिवालयका प्रवक्ता गौतमराज अमात्यले एमालेका सांसदहरू रोहितबहादुर कार्की, मालती कुमारी लिम्बु रामप्रसाद महतो, तारादेवी ढकाल, खड्ग बहादुर बस्नेत किशोर चन्द्र दुलाल र ज्ञानेन्द्र सुवेदीले भोलीको प्रदेश सभामा उपस्थित हुन नसक्ने भन्दै निवेदन दर्ता गराएका हुन् । उनीहरू मध्ये किशोर चन्द्र दुलाल भने अमेरिकामा छन् । अरू सबैले संसद् सचिवालयमा उपिश्थित भई निवेदन दर्ता गराएको अमात्यले बताए ।
यस्तै राप्रपाका अम्बरबहादुर विष्टले र गोपालबहादुर विश्वकर्माले संसद्मा उपस्थित हुन नसक्ने भन्दै निवेदन दिएका हुन् । सत्ता गठबन्धनले ज्येष्ठ सदस्य गयानन्द मण्डललाई मन्त्री बनाएपछि उनीहरू प्रदेश सभामा ज्येष्ठमा पर्छन् । उनीहरू पछि नेपाली काँग्रेसका अमृत अर्याल ज्येष्ठ सदस्यमा पर्छन् । अर्याल भन्दा ज्येष्ठ सदस्य रहेका उद्धव थापा र कमल प्रसाद जवेगु मन्त्री छन् । मन्त्री भएका कारण उनीहरूले सभा चलाउनु पर्दैन ।
साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थापाले विश्वासको मत लिने कार्यसूची तोकिएको छ । प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिने बैठकमा उपसभामुख सिर्जना दनुवार अनुपस्थित रहन सक्ने चर्चा चलिरहेको बेला एमाले र राप्रपाका का ज्येष्ठ सदस्यहरू अनुपस्थित हुने भएका हुन् ।
प्रदेशसभामा मुख्यमन्त्री थापालाई विश्वासको मत लिनबाट रोक्ने योजना अनुसार उनीहरू प्रदेशसभामा अनुपस्थित हुने भएका हुन् । प्रदेशसभामा सभामुख र उपसभामुखको नहुँदा ज्येष्ठ सदस्यले बैठक सञ्चालन गर्नुपर्ने हुन्छ । तर, उपसभामुखले राजीनामा नदिएको अवस्थामा भने अध्यक्ष मण्डलमा रहेका सदस्यहरूले बैठक सञ्चालन गर्ने व्यवस्था प्रदेशसभा नियमावलीमा छ ।
तर, प्रदेशसभामा सभामुख र उपसभामुख चयन नभएको अवस्थमा भने ज्येष्ठ सदस्यले बैठक सञ्चालन गर्ने व्यवस्था छ ।