विराटनगर । कोशी प्रदेशकी उप सभामुख सृजना दनुवारले आफू बिरामी भएको भन्दै प्रदेश सभामा उपस्थित हुन नसक्ने भन्दै जानकारी गराएकी छन् । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभाको बैठकमा दनुवारले आफू बिरामी भएका कारण सभामा उपस्थित हुन नसक्ने जानकारी गराएकी हुन् । ५ बजेपछि गराइएको जानकारी कार्यावस्था शाखाले दर्ता भने गरेको छैन । उनले कोशी प्रदेश सभा नियमावलीको नियम ११ बमोजिम सभा सञ्चालन गर्न समेत अनुरोध गरेकी छन् । नियमावलीको नियम ११ मा अध्यक्ष मण्डलको व्यवस्था रहेको छ ।
सभामुख र उप सभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्नका लागि संसद् नियमावली २०७४ को संशोधन सहितको नियम ११ मा अध्यक्ष मण्डल गठनको व्यवस्था छ । सोही नियम अनुसार कोशी प्रदेश सभामा नेपाली काँग्रेसका तर्फबाट इस्राइल मन्सुरी,राप्रपाका अम्बरबहादुर विष्ट, एमालेका मालती सुब्बा र माओवादी केन्द्रका गीता तिम्सिना अध्यक्ष मण्डलमा निर्वाचित भएका छन् । अध्यक्ष मण्डलमा रहेका राप्रपाका प्रदेश सभा सदस्य अम्बर बहादुर विष्ट र एमालेका मालती कुमारी सुब्बा हिजै घरायाशी काम परेको भन्दै बिदामा बसेका छन् ।
अध्यक्ष मण्डलमा रहेका इस्राइल मन्सुरी गीता भन्दा ज्येष्ठ सदस्य हुन् । उनी नेपाली काँग्रेसको तर्फबाट सुनसरी ४(२) बाट निर्वाचित भएका हुन् । उप सभामुख बिदामा बसेको बेला अव प्रदेश सभा मन्सुरीले सञ्चालन गर्नु पर्ने छ ।
उप सभामुख दनुवारले आफ्नो अनुपस्थिति भएको बेला सभा सञ्चालनको जिम्मा मन्सुरीलाई दिएकी छन् । उनले आफू बिरामी भएर उपचार गराउन बाहिर जानु पर्न भन्दै नफर्कीन्जेल सम्मका लागि सभा सञ्चालनको जिम्मा मन्सुरीलाई दिएकी हुन् ।
कोशी प्रदेश सभामा रहेका एमालेका ७ र राप्रपाका २ जना प्रदेश सभा सदस्यले हिजै बिदा लिइसकेका छन् । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिने तयारी गरेका छन् ।
थापाले यस बारेको सूचना शुक्रवार नै प्रदेशसभामा दर्ता गराइसकेका छन् । आइतबारलाई मागिएको समय उपसभामुख सिर्जना दनुवारले फेरबदल गरी सोमबार तोकेकी थिइन् । मुख्यमन्त्रीको रूपमा थापा साउन १६ गते नियुक्त भएका थिए । उनले ३० दिन भित्रमा विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ । विश्वासको मत लिनका लागि सत्ता गठबन्धन बाहेक राप्रपा र एमालेले सभा सञ्चालन गर्नु पर्ने हुन्छ । सत्ता गठबन्धनसँग कोशी प्रदेश सभामा ४७ मत मात्रै रहेको छ । सभा सञ्चालन गर्ने प्रदेश सभाले बराबर नभएको अवस्थामा विश्वासको मत दिन नपाउने भएका कारण थापालाई विश्वासको मत राप्रपा र एमालेका कारण सङ्कट उत्पन्न भएको छ ।
एमाले कोशी प्रदेश सभाका प्रमुख सचेतक रेबतीरमण भण्डारीले एमालेले विश्वासको मत दिन नसक्ने बताए । प्रदेश सभा सदस्यहरू बिरामी परेर या अन्य काम परेर अनुपस्थित हुन सक्ने बताए । उनले भने यो पार्टीले भन्दा पनि उहाँहरूलाई समस्या परेर बिदा लिनु भएको हुन सक्छ यसमा पार्टीले ह्विप लगाएको छैन ।
नेपाली काँग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले भने विश्वासको मत लिने दिन ज्येष्ठ सदस्य बिदामा बस्नु उप सभामुखले बिदा लिएर सभा नचलाउनु राम्रो सङ्केत नभएको बताए ।