इटहरी । खोला पैनी मिचेर बनाएका संरचना भत्काउन इटहरी उपमहानगरपालिकाले पुनः १५ दिन समय थप गरेको छ । यस अघि जारी ३५ दिने सूचनाको समय सकिए पछि १५ दिने सूचना जारी गरेको हो । 
इटहरी उप महानगरपालिकाका मेयर हेमकर्ण पौडेलले खोला पैनी मिचेर बनाएका संरचना भत्काउन निर्मम हुने पटक पटक सार्वजनिक रूपमा बताएका छन् ।
मेयर पौडेलले खोला पैनी र सार्वजनिक जमिन संरक्षण कार्यदलको दिएको प्रतिवेदनका आधारमा निर्मम भएर संरचना भत्काउने सार्वजनिक उद्घोष गरेका छन् । 
मेयर पौडेलले दिएको उच्च मनोबल लिएर प्राविधिक कर्मचारीहरू अहिले खोला पैनीको नाप जाँच गर्ने काम भइरहेको खोला पैनी र सार्वजनिक जमिन संरक्षण कार्यदलका संयोजक पुष्पनारायण चौधरीले जानकारी दिए ।  
उपमहानगरले बनाएको खोला पैनी र सार्वजनिक जमिन संरक्षण कार्यदलका र अन्तर्गतको उपसमितिका प्राविधिक टोलीले टेँग्राखोलाको मुहानबाट नाप जाँच सुरु गरेको थियो ।
 ३५ दिन सम्म आइपुग्दा प्राविधिक टोली इटहरीको मुख्य बजार क्षेत्रको टेँग्रापुल सम्म नाप जाँच गरिसकेको छ । अब केही दिन भित्रमा इटहरीको सीमा सम्म पुगेर फिल्ड वर्क सकेर टेबल वर्क गरी रिपोर्ट पेस गर्ने तयारीमा रहेको इन्जिनियर दिपेश आचार्यले जानकारी दिए । 
Np toli

नाप जाँचमा के देखियो ? 

 मध्य वर्षाको समय अर्थात् साउनको ९ गते प्राविधिक टोलीले इटहरीको मुहान वडा नम्बर २बाट टेँग्राखोलाको नाप जाँच सुरु गरेको थियो । भदौ ४ गते सम्ममा नाप जाँच गर्दै प्राविधिक टोली बजार क्षेत्रको टेँग्रापुल सम्म आइपुगेको छ । 
यहाँ सम्म आइपुग्दा टेँग्राखोलाको नदिको भाग र किनाराको ६ /६ मिटरको क्षेत्रमा धेरै स्थायी भौतिक संरचना निर्माण भएको पाइएको छ । वडा न. २ को पशुपति चौक सम्म त्यति धेरै स्थायी भौतिक संरचना बनाइएको छैन । चौपाया राख्ने गोठ, स साना अस्थायी प्रकृतिका संरचना बनाइएका छन् । 
तर वडा नम्बरको ४ र ३ देखी दक्षिण तर्फ भने धेरै स्थायी भौतिक संरचना बनेका छन् । 
फिल्डमा खटिएका इन्जिनियर दिपेश आचार्य भन्छन्,‘ वडा नम्बर ४ देखी दक्षिण लागेपछि धेरै स्थायी संरचना बनाइएको पाइयो ।’ 
‘यकिन तथ्याङ्क त निकालिएको छैन, फिल्ड वर्कमै छौँ, एक तले पक्की घर देखी २÷३ तले पक्की घर बनाइएको छ । २ वटा प्राइभेट विद्यालय पनि भेटियो ।’ इन्जिनियर दिपेश आचार्यले भने ।  
बजार क्षेत्र आएपछि धेरै खोला अतिक्रमण गरिएको छ । बजार क्षेत्रमा खोला भित्रै बाट संरचना बनाइएको छ । 
अब केही दिनमा फिल्ड वर्क सकेर टेबल वर्क गरी रिपोर्ट उपमहानगरलाई बुझाउने इन्जिनियर आचार्यले बताए ।  

Napi

निजी जग्गामा बग्दै छ टेँग्राखोला 

प्राविधिक टोलीले २ समूह बनाएर नाप जाँच गर्दै छ । एउटा टोलीले विद्यमान अवस्थामा बग्दै गरेको ‘खोलाको राइट अफ वे’ भित्र के कति जग्गा अतिक्रमण गरी संरचना निर्माण गरिएको छ, त्यो पत्ता लगाउने काम हुँदै छ ।  
अर्को,अमिन तथा सर्वेक्षक सहितको प्राविधिक टोलीले नापी विभागबाट ल्याएको नक्साका आधारमा खोलाको वास्तविक ‘खोलाको राइट अफ वे’ पत्ता लगाउने काम गर्दै छ ।
टेँग्राखोलाको मुहानबाट बजार क्षेत्रको चिन्तन चौतारी सम्म नाप जाँच गर्दा अधिकांश ठाउँमा खोला निजी जग्गामा बगेको छ । 
सर्वेक्षक भुपेन कुमार चौधरीका अनुसार कतिपय ठाउँमा त खोलाको जग्गा नै भेटिँदैन । कित्ता काट गरी पास पनि भएको छ । 
वडा नम्बर २ र ३का कतिपय ठाउँमा खोलाको नक्सा र निजी जग्गाको नक्सा नै मेल खाँदैन । 
बजार क्षेत्रमा आएपछि खोलाको जग्गा नै नभेटिने सर्वेक्षक चौधरी बताउँछन् । 
सर्वेक्षक चौधरीले भने, ‘वडा नम्बर ४,६र ९ मा खोला अहिले नम्बरी जग्गामा बगिरहेको छ । खोलाको साबिक जग्गा कित्ताकाट गरी पास भइसकेको देखिन्छ ।’ 
खोलाले धार परिवर्तन गरी निजी जग्गामा बगिरहेको देखिएको सर्वेक्षक चौधरीले बताए । कतिपय ठाउँमा खोलाको जग्गा पास गरेर नै व्यक्तिलाई दिएको पनि भेटिएको उनले जानकारी दिए । 
विभिन्न समयमा बनेका सुकुम्वासी आयोगले खोला उकासको जग्गा भनेर कित्ताकाट नै गरी जग्गा पास गरेको देखियो सर्वेक्षक चौधरीले भने ।
खोलाको ‘खोलाको राइट अफ वे’ पत्ता लगाउन प्राविधिक टोलीले नापी विभागले जारी गरेको पुराना नक्सालाई आधार बनाएको छ । 
अर्को तर्फ इटहरी उपमहानगरपालिकाले नक्सा पास गरेका निजी व्यक्तिका जग्गाको नक्सालाई पनि आधार मानेको छ । यस्तै पुराना सरकारी कार्यालयका नापी नक्सा तथा घर नक्सा पास भएका नक्साहरूलाई पनि जाँच गर्ने आधार बनाएको छ । 
३÷४ दिन दिन भित्रमा फिल्डको काम सक्ने गरी काम भइरहेको सर्वेक्षक चौधरीले बताए । 
 प्राविधिक टोलीले फिल्डले गरेको नाप जाँचको रिपोट तयार गरी उपमहानगरपालिकाका मेयर तथा उपमेयरलाई बुझाउने खोला पैनी र सार्वजनिक जमिन संरक्षण कार्यदलका संयोजक पुष्प चौधरीले जानकारी दिए । 
np 1