विराटनगर । कोशी प्रदेश सभामा  प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले गठबन्धन दलले पटक पटक संविधानको. उल्लङ्घन गरेको बताएका छन्  । कोशी प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै उनले पहिला बजेट पास गर्ने र विश्वासको मत दिने कुराको सहमति भत्काउने काम गठबन्धन दलहरूबाट भएको आरोप लगाएका हुन्  ।  ‘हिजो सरकार बनाउन सभामुखको हस्ताक्षर प्रयोग, मुख्यमन्त्रीको कार्यालयमा ताला, ६ दिनसम्म सरकार विहीनताको अवस्था सिर्जना गराउने काम, शपथमा निवर्तमान मुख्यमन्त्रीको कुर्सी नराख्ने काम भएको छ, उनले भने, बजेटलाई प्राथमिकता माथिको इन्कारी र उपसभामुख माथिको आलोचना लगायतका घटनाले गठबन्धन कसरी अगाडी बढ्दै छ भन्ने स्पष्ट भएको छ।’
उनले फेरी पनि संविधान र कानुन उल्लङ्घन गर्ने प्रयास गठबन्धन दलहरूको तर्फबाट बनेको सरकारले गर्न लागेकोमा आशङ्का व्यक्त गरे ।  ‘संविधान उल्लङ्घन गर्ने कुराको  सुरुवात गठबन्धन दलले सरकार बनाउन सभामुखको हस्ताक्षरको प्रयोग गरेर गरेको हो, उनले भने,  नेकपा एकालेका ९ जना सांसद बिदामा बसेको भन्ने कुरालाई अतिरञ्जित बनाइयो, कुनै सांसद लिखित निवेदन दिएर बिदामा बस्न नपाउने भन्ने कुरा हुन्छ ?’ 
सभामुख र उपसभामुख भएको बेलामा ज्येष्ठ सदस्यले सभामुखको भूमिकामा जान नसक्ने बताएका उनले  सभामुख र उपसभामुख रिक्त  रहेको अवस्थामा मात्र प्यानल मनोनीत  सदस्यले अध्यक्षता गर्ने व्यवस्था रहेको बताए ।  
सरकारका मुख्यमन्त्री र मन्त्री पद प्रप्तीका लागि गरिमामय  सभामुख पदको हुर्मत लिँदा लिने काम गठबन्धनबाट भएको उनले आरोप लगाए । एक दिन अगाडी पनि सभामुखबाट राजीनामा दिन्न भनेका तत्कालीन सभामुख बाबुराम गौतमले त्यसपछि फेरी राजीनामा दिन बाध्य भनेर सार्वजनिक गर्नु लज्जास्पद विषय भएको बताए । ‘हामीलाई ४७ जना पुर्‍याउन सभामुख छाड्नुस् तपाईँलाई मन्त्री दिन्छौँ, भनेर असंवैधानिक हर्कत कसले गर्‍यो, भण्डारीको प्रश्न थियो, ‘एक पछि अर्को संविधान र कानुनको हुर्मत लिने दुष्प्रयास धेरै गर्नु भयो, अब लिने प्रयास नगर्नुस् ।’  उनले संविधान र कानुनको विषयलाई आफ्नो स्वार्थ पूर्तिका निम्ति व्याख्या गर्ने दुष्प्रयास भएको बताए ।  ‘नागरिकमा उठ्दै आएको प्रदेश प्रतिको वितृष्ण बढाउने कामको जिम्मेवारी तपाईँहरूले लिनु पर्छ, उनले भने, अहिले गठबन्धनको तर्फबाट भइरहेको गतिविधि असंवैधानिक  रूपमा भएको छ ।’ एमाले अल्पमतमा रहेकोले ४० जना मात्र रहेको, एमालेसँग सहकार्य गरेको राप्रपाका ६ गरी ४६ जना मात्र रहेको बताएका भण्डारीले  बहुमत छैन भन्दैमा गठबन्धनले बहुमत पुर्‍याउने नाममा जबरजस्त रूपमा लाग्ने काम भएको बताए ।

सर्वदलीय बैठकमा विश्वासको मत पहिला की बजेट पारित गर्ने पहिला भन्ने बारेमा  छलफल भएको थियो । बजेटलाई पहिलो प्राथमिकता दिने भनिए पनि एक घण्टा भित्रै विश्वासको मतको लागि प्रदेश सभा सचिवालयमा मुख्यमन्त्रीले सूचना दर्ता गराएको उनले आरोप लगाए ।