विराटनगर । कोशी प्रदेशको सभामुखको आसन गरेका इसराईल मन्सुरीले समेत सरकारको मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत दिएका छन् । नेपालमा अहिलेसम्म प्रयोग नै नभएको व्यवस्थालाई टेकेर असंवैधानिक प्रयोग भएको हो । नेपालको संविधानको धारा १६८ (४) बमोजिम सरकारलाई विश्वास रहेको भन्ने पक्षमा सभामुखको भूमिकामा रहेका मन्सुरी समेतले मतदान गरेका हुन् ।
कोशी प्रदेशमा नेपाली काँग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, एकीकृत समाजवादीको ४ र जसपाको १ सांसद सरकारको पक्षमा छन् । अध्यक्ष मण्डलको सदस्यलाई सभामुखको भूमिकामा गीता तिम्सिनालाई बोलाए उनी तल झरे मतदान गरेर तिम्सिनालाई सभाध्यक्षको भूमिकामा बोल्नै नदिई उनी फेरी सभामुखको भूमिकामा गएर बसेका थिए ।
कोशी प्रदेश सभाको सभामुख रिक्त रहेको अवस्था र उपसभामुख बिरामी परेर उपचारको क्रममा प्रदेश बाहिर रहेपछि प्यानल सदस्यको रूपमा रहेका मन्सुरीले सोमबार प्रदेश सभामा सभामुखको भूमिका निभाएका थिए ।
सत्ता गठबन्धन दलले सरकारको पक्षमा मतदान हाल्न दबाब दिएपछि विश्वासको मत दिएका हुन् । सभामुख पदमा रहेको व्यक्तिले मत विभाजन हुँदा बराबर भएमा मात्र निर्णायक मत दिने व्यवस्था रहेको भए पनि सरकारमा बहुमत पुर्याउन उनले पक्षमा मतदान गरेका छन् ।