इटहरी । इटहरी उपमहानगरपालिकाको कर्मचारी सरुवामा आफूलाई झुक्याईएको उपमेयर संगीता कुमारी चौधरीले गुनासो गरेकी छिन् । 
मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृत बिच कर्मचारीको सरुवाको विषयमा कार्य सम्पादनमा कमजोर,राम्रो व्यवहार नभएका र चित्त बुझ्दो काम नगरेका एक दुई जना कर्मचारीलाई सचेत गराउन सरुवा गर्ने मौखिक सहमति भएको थियो । 
उपमेयर चौधरीले भनिन्,‘बदमासी गर्ने एक दुई जना कर्मचारीलाई सचेत गराउन सरुवा गर्ने हामी तीन जना बिच कुरा भएको थियो । तर एक एकमुष्ट सबैको सरुवा भयो । मलाई झुक्याईयो ।’
‘दुई जना कर्मचारी देखाएर सबै कर्मचारीको सरुवा गरियो, यसमा मलाई झुक्याईयो’ उपमेयर चौधरीले गुनासो पोखिन् । 
अनुभवी कर्मचारी वडाबाट सरुवा गर्दा कार्यसम्पादनमा असर पर्ने भन्दै वडा अध्यक्षबाट तीव्र दबाब आएको उपमेयर चौधरीले बताइन । 
 अर्को तर्फ फाँटमा राम्रो काम गर्दै आएका अनुभवी कर्मचारीहरूको एकै पटक सरुवा गर्दा दैनिक कार्य सम्पादनमा पनि असर पर्ने मेयर चौधरीको भनाई छ । 
प्रमुख प्रशासकीय अधिकृतले आफूसँग कर्मचारीको सरुवाको विषयमा पर्याप्त छलफल नगरेको उपमेयर चौधरीको आरोप छ । 
कर्मचारी सरुवामा असन्तुष्टि जनाउन उपमेयरलाई नेकपा एमालेले पनि तीव्र दबाब दिएको थियो । पार्टीबाट पनि तीव्र दबाब आयो, वडा अध्यक्षहरूले पनि धेरै दबाब दिनुभयो त्यसैले ज्ञापन पत्रमा हस्ताक्षर गरेको हो, उनले सुनाइन । 
यता, अनुभवी सचिवलाई एकै पटक सरुवा गर्दा दैनिक कार्य सम्पादनमा असर पुगेको वडा नम्बर ३का अध्यक्ष उमेश सुवेदीले बताए । 
कर्मचारी सरुवा नियम संगत नभएको उनको तर्क छ । राजनीतिक पूर्वाग्रह राखेर कर्मचारी सरुवा गरिएको वडा अध्यक्ष सुवेदीले बताए । 
वडा अध्यक्ष सुवेदीले भने, ‘ओ एन एम सर्वे पास भएको छैन । कानुनमै नभएको शाखा, महाशाखा बनाएर कर्मचारीलाई सरुवा गरिएको छ । यसमा राजनीतिक पूर्वाग्रह देखिन्छ ।’
वडा अध्यक्षहरूलाई सामान्य परामर्श पनि नगरी एकै पटक वडा सचिव तथा फाँटका कर्मचारी सरुवा गरिएको उनको गुनासो छ । 
‘हामीलाई पटक पटक झुक्याउने काम भयो । अघिल्लो करको विषयमा पनि झुक्याईयो, अहिले पनि झुक्याउने काम  भयो । कर्मचारी सरुवामा हामी पछि हट्दैनौ ’ वडा अध्यक्ष सुवेदीले भने । 
यता, प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहता, कर्मचारी सरुवा प्रशासन भित्रको आन्तरिक काम भएको बताउँछन् । 
कर्मचारीले सम्पादन गरेको काम, दक्षता र क्षमताको आधारमा फाँट सरुवा गर्नु प्रशासन भित्रको सामान्य काम भएको प्रशासकीय अधिकृत मेहताको भनाई छ । 
प्रशासकीय अधिकृत मेहताले भने,‘उहाँहरूले जुन राजनीतिक पूर्वाग्रहको आरोप लगाउनुभएको छ,त्यसमा कुनै सत्यता छैन, यो प्रशासन भित्रको सामान्य काम हो ।’
 प्रशासनिक सुधारका लागि गरिने काममा राजनीतिक दबाब दिनु गलत भएको उनको तर्क छ । 
उनले भने,‘ प्रशासनले गरेको काममा दबाब दिनु गलत हो । राजनीतिले प्रशासनलाई दबाब दिनु भएको त, प्रशासन माथि राजनीतिक हमला गरे जस्तो भयो नि हैन र ? यति सामान्य कुरा त उहाँहरूले पनि बुझ्नुपर्ने हो ।’ 
प्रशासकीय अधिकृत मेहताका अनुसार कर्मचारीलाई उनीहरूको फाँट अनुसार नै सरुवा गरिएको छ । एउटै कर्मचारी एउटै फाँट वा वडामै सधैँ बस्नुपर्छ भन्ने पनि हुँदैन, अहिलेको सरुवाले दैनिक कार्य सम्पादनमा कुनै असर नगर्ने उनको भनाई छ । 
कर्मचारी सरुवा प्रति असन्तुष्टि जनाएका वडा अध्यक्षहरूले प्रमुख प्रशासकीय अधिकृतसँग छलफल गरी समस्या समाधानको पहल भइरहेको बताए । छलफलबाट निकास ननिस्किए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने वडा अध्यक्षहरूले बताएका छन् ।

uml
uml 01