नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशी प्रदेश सभाको बैठक बहिस्कार गरेको छ। कोशी प्रदेश सभाको चौथो बैठक सुरु भएसँगै राप्रपा र एमाले प्रदेश सभाबाट बाहिरिएका हुन्  । प्रदेश सभाको चौथो बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा  सभामुखको हैसियतमा रहेका व्यक्तिले गैह्र संवैधानिक कार्य गरेको भन्दै दुवै दलले प्रदेश सभाको बैठक बहिस्कार गरेका हुन् ।  कोशी प्रदेश सभा अमर्यादित तवरबाट सञ्चालन भएकोको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता भक्ति प्रसाद सिटौलाले बहिस्कारको घोषणा गरेका थिए । राप्रपा सदनबाट बाहिरिएसँगै नेकपा एमालेका सांसद  तिलप्रसाद मेन्याङ्बोले प्रदेश सभामा सभामुखको भूमिकामा रहेका व्यक्तिले संविधान उल्लङ्घन गरेकोले अमर्यादित तवरबाट सदन सञ्चालन भएको बताए । संविधानमा नै उल्लेख नभएको सभामुखको आसनमा बसेको व्यक्तिले आएर मुख्यमन्त्रीको पक्षमा मतदान गरेको भन्दै संविधान मिच्ने व्यक्तिले सञ्चालन गरेको सदनमा बस्न नसकिने भन्दै एमालेले बहिस्कार गर्ने बताए ।  ‘मत बराबर भएको अवस्थामा मात्र सभामुखले निर्णायक मत हाल्ने व्यवस्था छ, उनले भने, सभामुखको भूमिकामा भएको व्यक्तिले मत दिने व्यवस्था कहाँ छ ? मत बराबर भएको अवस्थामा मात्र हो, त्यहाँ मत बराबर भएको थियो ?’ 
नेकपा एमाले र  राप्रपा प्रदेश सभाबाट बाहिरिएपछि कोशी प्रदेश सभाको बैठक अनिश्चितकाका लागि स्थगित भएको छ । सभामुखको भूमिकामा रहेका इस्राईल मन्सुरीले मत विभाजन भएर मतदान सकिएपछि संशोधन पनि सकिएपछि  आफ्नो आसनबाट तल झरेर मतदान गरेका थिए । सभामुखको भूमिकामा रहेका व्यक्तिले गरेको गतिविधिले संविधान र कानुनको उल्लङ्घन भएको  संविधान विद्धहरूले बताउँदै आएका छन्  ।