विराटनगर । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले दलका शीर्ष नेताहरू बालुवाटारमा बसेर संविधान विरोधी निर्णय गर्ने गरेको आरोप लगाएका छन् । शीर्ष नेताहरू बालुवाटारमा बसेर  गरेका संविधान विरोधी गतिविधिले मुलुक भयावह दुर्घटनाको अवस्थामा पुग्न लागेको बताएका हुन् ।  ‘संविधानले एउटा अधिकार दिएको छ तर नेताहरू एक ठाउँमा बस्नुहुन्छ र आफू अनुकूलका निर्णय गर्नुहुन्छ, कोइरालाले भने, यसरी देशलाई कहाँ पुर्‍याउन खोजेको हो ?’  मोरङको सुन्दरहरैंचामा आयोजित दुलारी सरोकार मञ्चको वार्षिकोत्सव तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले हरेक गतिविधि असंवैधानिक हुँदै आएका छन् यस्ता गतिविधिले कसैलाई पनि फाइदा नपुग्ने बताए । कोशी प्रदेश सरकारको विश्वासको मतबारेको प्रसङ्गमा कोइरालाले अदालतले जे नगर्नु भन्यो शीर्ष नेताहरू बसेर फेरि त्यही गरेको बताए ।   ‘संविधान र अदालतमाथिको यस्तो बल मिच्याईं कहिले सम्म, उनको प्रश्न थियो, दलहरूको चरम राजनीतिकरणले समाज नै  ध्रुवीकरणमा गएको छ।’

कोइराला राजनीतिक दलहरूको चरम राजनीतिले समाज ध्रुवीकरण हुँदै गएको र सामाजिक सद्भाव समेत बिथोलिएको बताए। कार्यक्रममा २०१५ साल देखि हालसम्म निर्वाचित स्थानीय प्रतिनिधि तथा तिनका परिवारलाई सम्मान गरिएको थियो ।