सुनसरी । कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङ्ले प्रदेशसभाको चालु तेस्रो तथा हिउँदे अधिवेशन अन्त्य गरेका छन् । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख खापुङ्ले बुधबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले जनाएका हुन् ।

प्रदेश सरकार मन्त्रिपरिषद्को बुधबार राति ८ बजे बसेको बैठकले हिउँदे अधिवेशन अत्यका लागि प्रदेश प्रमुख खापुङसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । प्रदेशलाई बजेट शून्यतामा जान नदिन अधिवेशन अन्त्य गरी प्रदेश सरकारले तत्कालीन हिक्मतकुमार कार्की नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको चालु आर्थिक वर्षको बजेट फिर्ता गरी बजेटसम्बन्धी अर्को अध्यादेश ल्याउने तयारी गरेको छ ।

मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्ष इस्राइल मन्सुरीको भोटले लिएको विश्वासको मतको विरुद्धमा प्रमुख प्रतिपक्षी दल एमालेका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा बुधबार रिट निवेदन दायर गरेपछि हतारोमा अधिवेशन अन्त्य गरेर बजेटसम्बन्धी अर्को अध्यादेश ल्याउन जुटेको सत्तारुढ गठबन्धनका प्रदेश सांसदले बताए ।