विराटनगर । प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घले कोशी प्रदेशका कोशी प्रदेशमा स्वास्थ्य शिविर अभियान सुरु गरेको छ । नेकपा माओवादी केन्द्रको पार्टी रूपान्तरण अभियान अन्तरगत स्वास्थ्य क्षेत्र सुधारको लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ७ मा रहेको अरनिको माध्यमिक विद्यालय सतिघट्टामा पहिलो दिन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घ कोशी प्रदेश फ्याक्सन इन्चार्ज अञ्जना पोखरेलले जानकारी दिइन् ।


सतिघट्टाका चिया मजदुरलाई लक्षित गरी आयोजना स्वास्थ्य शिविरमा ४९० जनाले स्वास्थ्य लाभ लिएका छन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सभाका सदस्य राजेन्द्र कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश सभा सदस्य गम्बु शेर्पा लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागी रहेका थिए । कार्यक्रममा झापाका मजदुर नेता भूपाल सापकोटाले स्वास्थ्य शिविरले चिया मजदुरलाई राहत मिलेको बताए । ‘चिया मजदुरका धेरै ठुला स्वास्थ्य समस्या रहेको छ, उनले भनिन्, यसरी आएर नियमित शिविर चलाउनु पर्छ ।’

दुर्गम तथा पिछडिएको क्षेत्रलाई समेट्ने गरि यस कोशी प्रदेशका सम्पूर्ण जिल्लाहरूले कम्तीमा एक एक स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने केन्द्रीय नीति अनुसार कार्यक्रमको आयोजना भएको हो । क्यान्सर, मिर्गौला, मुटु रोग लगायत दिर्घरोगहरुको पहिचान गरी उपचारको व्यवस्था मिलाउने योजना अभियानमा अघि सारिएको पोखरेलले बताइन् ।
शिविरमा आएर स्वास्थ्य परीक्षण गरेर जटिल प्रकारको उपचार गर्नु पर्ने विरामीहरुको लागि निःशुल्क तथा ५० प्रतिशत छुटमा उपचार गराउने व्यवस्था मिलाइएको पोखरेलले जानकारी दिइन् ।