विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीले मोरङ जिल्ला अध्यक्ष माधवप्रसाद आचार्यलाई कार्वाही गर्दै नयाँ समिति गठन गरेको छ। झन्डै १२ वर्षदेखि मोरङ जिल्ला अध्यक्ष रहँदै आएका माधवप्रसाद आचार्यलाई हटाएर गोपालबहादुर कटुवाललाई जिल्ला अध्यक्ष बनाइएको हो । २०७८ सालमा जिल्ला अधिवेशनबाट आचार्य तेस्रो कार्यकालका लागि जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए । राप्रपाले अहिले भइरहेको समितिले काम गर्न नसकेको भन्दै करिब डेढ महिना अघि नै आचार्यलाई हटाएर कटुवाललाई जिल्ला संयोजकको जिम्मेवारी दिएको थियो ।
५१ सदस्य जिल्ला कमिटी रहने गरी तदर्थ समिति गठन भएपछि निवर्तमान अध्यक्ष आचार्यले विधान विपरीत हटाइएको आरोप लगाएका छन् । झापाको दमकमा भएको कोशी प्रदेश स्तरीय बैठकमा मोरङ जिल्लाको रिपोर्टिङ गर्ने क्रममा आचार्यले कोशी प्रदेश सरकारबाट राप्रपा बाहिरिनु पर्ने, प्रदेश सरकार खारेजी सहितको मुद्दा लिएर हिन्दु राष्ट्र कायम गर्ने अभियानमा लाग्नु पर्ने भन्दै आफ्नो मत राख्दा नेतृत्वले आफू माथि कार्वाहीको डन्डा चलाएको उनले आरोप लगाएका छन् । ‘म अधिवेशनबाट निर्वाचित भएर आएको जिल्ला अध्यक्षलाई कार्वाही गरेर केन्द्रीय अध्यक्षले विधान मिच्ने काम गर्नुभयो, आचार्यले भने, विधान विपरीतको कार्वाही भएको छ, यो ठिक हैन, अधिवेशनबाट निर्वाचित भएर आएको अध्यक्षलाई कार्वाही गरेर हटाउने व्यवस्था छैन ।’ उनको दाबी अनुसार, प्रदेश स्तरीय बैठकमा आफ्ना कुराहरू राख्दा स्पष्ट भएर हिन्दु राज्य हुनु पर्ने कुराहरू राखेको, त्यसकालागि सडक आन्दोलन सुरु गर्नु पर्छ भन्ने थियो, उनले आफ्ना कुराहरू राखिरहँदा पार्टी केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन, प्रवक्ता भक्तिप्रसाद सिटौला, कोशी प्रदेश अध्यक्ष राम थापा पनि सँगै थिए ।
आचार्यले आफ्नो बचाउ गरेको भए पनि केन्द्रीय समितिले उनको काम कार्वाही ठिक नभएको जनाएको छ। विभिन्न अध्ययनहरूबाट जिल्लाको गतिविधि ठिक नभएको भन्दै कार्वाही चलाएको जनाएको छ। मोरङ जिल्ला सहित रौतहट र दाङ जिल्ला पनि पुर्नःगठन गरिएको छ। जिल्ला समितिका अध्यक्षहरूले पार्टी गतिविधि बढाउन नलागेपछि त्यस्ता जिल्लाहरूमा पुरानो समिति विघटन गरी नयाँ तदर्थ समिति बनाइएको राप्रपाका प्रवक्ता भक्ति सिटौलाले जानकारी दिए । केन्द्रीय कार्यक्रम सम्पादन समितिको विभिन्न समितिहरूले दिएको प्रतिवेदनका आधारमा मोरङ जिल्लाको काम कार्वाही चित नबुझेपछि आचार्य पार्टी जिल्ला अध्यक्षबाट बर्खास्त भएका हुन् ।
केन्द्रीय अध्यक्ष लिङ्देनले आचार्यलाई बर्खास्त गरेर नयाँ कार्य समितिको अध्यक्षमा कटुवाललाई नियुक्ति गरिएसँगै पार्टी गतिविधि १७ वटै पालिकामा बढेको सिटौलाले बताए । ५१ सदस्य तदर्थ समिति बनाउने भनिए पनि २८ सदस्य अहिले चयन भएका छन् । बाँकी तय गरिने राप्रपा मोरङ तदर्थ समितिका संयोजक कटुवालले बताए । कटुवा संयोजक रहेको समितिको उपाध्यक्षमा मकानन्द पराजुली र राजेश मास्के तथा सचिवमा जय सिटौला चयन भएका छन् । नव गठित समितिले सोमबार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरेको छ। नव गठित समितिले ६ महिना भित्रमा जिल्ला अधिवेशन गरिसक्ने गरी जिम्मेवारी दिइएको राप्रपा केन्द्रीय समितिले जनाएको छ । राप्रपाको जिल्ला संयोजक चयन भएका कटुवाल २०७० सालको संविधान सभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट चुनाव लडेका थिए । कटुवाल २०७९ को निर्वाचन प्रतिनिधि सभाको निर्वाचनमा राप्रपाबाट नेपाली काँग्रेसका नेता डा शेखर कोइराला र एमालेका नेता लालबाबु पण्डितको प्रतिस्पर्धी थिए ।