विराटनगर । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा एमालेका सांसद ऋषिकेश पोखरेल निर्विरोध निर्वाचित भएका छन् । आइतबार भएको उम्मेदवारी दर्ता प्रक्रियामा उक्त समितिमा पोखरेलको एकल नाम परेको हो ।  
प्रतिनिधि सभाका १० मध्ये ९ वटा समितिमा निर्विरोध सभापति चयन भएका छन्। त्यस्तै नेकपा एमालेबाट महिला तथा सामाजिक मामिला समितिमा किरणकुमार साहको एकल उम्मेदवारी परेको छ । अर्थ समितिको सभापतिमा नेपाली काँग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादीका राज किशोर यादव, कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा माओवादी केन्द्रका विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा काङ्ग्रेसकी आरजु राणा देउवा, राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा, पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा एकीकृत समाजवादीका भानुभक्त जोशीको एकल उम्मेदवारी परेसँगै उनीहरू निर्विरोध निर्वाचित भएका छन् ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमतका अब्दुल खान र रास्वपाका गणेश पराजुलीको उम्मेदवारी परेको छ। उद्योग समितिको सभापतिका रास्वपाले उम्मेदवारी दर्ता गरेपछि आज मतदान हुँदै छ ।