विराटनगर । राप्रपा कोशी प्रदेश संसदीय दलका नेता तथा पूर्व मन्त्री भक्ति सिटौलाले कोशी प्रदेशमा सत्ता गठबन्धनलाई राप्रपाले सहयोग नगर्ने बताएका छन् । उनले सत्ता गठबन्धनलाई राप्रपाले साथ दिने भनेर आएका समाचार हल्ला मात्रै भएको बताए । नेपाल प्रेससँग कुरा गर्दै सिटौलाले राप्रपाले कोशीमा सत्ता गठबन्धनलाई साथ दिने विषयमा कुनै सहमति नगरेको स्पष्ट पारे ।

उनले भने, सर्वोच्च अदालतले कोशीको सरकार गठनका विषयमा प्रश्न उठाएका बेला राप्रपाले साथ दिने भन्ने कुरा आउँदैन । भदौको १५ गते सम्भवता उद्धव थापा नेतृत्वको सरकारलाई अदालतले बदर गर्छ त्यस्तो बेलामा राप्रपाले साथ दिन्छ भनेर हल्ला चलाइएको हुन सक्छ । उनले हल्लाको विषयमा कुनै सत्यता नभएको स्पष्ट पारे । 

उनले राप्रपा लामो समयका लागि राजनीति दौडमा निस्केकाले प्रतिनिधि सभाको  पूर्वाधार  विकास समितिको सभापतिसँग कोशी प्रदेशको राजनीति नसाट्ने बताए । प्रतिनिधि सभाको पूर्वाधार विकास समितिमा आइतबार राप्रपाका दीपक सिंह विजयी भएका थिए । उनलाई सभापति बनाएसँगै राप्रपाले  कोशीमा सत्ता गठबन्धनलाई साथ दिने समाचारहरू बाहिर आएका छन् ।

सिटौलाले भने, हामी लामो समयका लागि राजनीति सम्भावना हेरिरहेका छौ । अहिले नै यति सानो कुरामा पुरानो सहयात्रीसँग साथ छाड्दैनौ ।  उनले पुरानो सहयात्री भन्दै एमालेसँगको राजनीतिक सहयात्रा ८४ को चुनाव भन्दा पछाडि पनि जान सक्ने बताए । एलयन्स जारी छ । उनले भने, यो एलायन्स ८४ पछि पनि जान सक्छ ।
प्रदेश र सङ्घको निर्वाचनमा राप्रपा र एमालेका बिचमा सहकार्य भएको थियो । सो सहकार्य पछि कोशी प्रदेशमा एमाले संसदीय दलका नेता हिकमत कार्कीको नेतृत्वको सरकार बनेको थियो । सो सरकारलाई समर्थन गरेका माओवादी र जसपाले साथ छाडे पनि अहिले सम्म रापपाले भने साथ छाडेको छैन । 
कोशी प्रदेशमा बहुमत पुग्नका लागि ४७ सिट आवश्यक पर्छ । सत्ता गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर आर्थिक मामिला मन्त्री तथा योजना मन्त्री बनाए पनि एमाले र राप्रपाले सभा नचलाई दिँदा विश्वासको मत लिन समस्या परेको छ । 

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौको ४ गते प्रदेश सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीलाई समेत पक्षमा मत हाल्न लगाएर विश्वासको मत लिएका थिए । मन्सुरीले उप सभामुख बिरामी भएको अवस्थामा र ज्येष्ठ सदस्य अम्बरबहादुर विष्ट र मालती सुब्बाले बिदा लिएको अवस्थामा अध्यक्ष मण्डलको सदस्यको हैसियतले प्रदेश सभाको अध्यक्षता गरेका थिए । 
अध्यक्षता ग्रहण गरेका बेला अध्यक्ष मण्डलकी सदस्य गीता तिम्सिनालाई अध्यक्षता ग्रहण गर्न लगाएर थापालाई विश्वासको मत दिएका थिए । सभाको अध्यक्षता गरेको व्यक्तिको समेत मत गनेर विश्वासको मत लिएको दाबी गरेपछि एमाले  कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्की सर्वोच्च अदालत गएका थिए । 

 कार्कीको रिटमा बिहीबार सुनवाई गर्दै कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई सर्वोच्च अदालतले फेरि पनि ‘कामचलाउ’ हैसियतमा खुम्च्याउँदै दीर्घकालीन र नीतिगत प्रकृतिका कुनै निर्णय नगर्न  अन्तरिम आदेश दिएको छ ।
मुख्यमन्त्री थापाले सोमबार प्रदेश सभाबाट लिएको विश्वासको मतलाई ‘संविधानसम्मत नदेखिएको’ भन्दै सर्वोच्च अदालतले दीर्घकालीन प्रभाव पर्ने काम र निर्णय नगर्न भनिएको छ  । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले यस्तो आदेश दिएको हो । भदौ १५ गते शुक्रवार अग्राधिकारसहित मुद्दाको पूर्ण सुनुवाइका लागि पेसी तोकिएको  छ ।